नववर्षको पूर्वसन्ध्यामा वीरगञ्ज कपडा बैंकद्वारा १ हजार भन्दा बढीलाई कपडा सहयोग

55

वीरगञ्ज, चैत्र २७ :

नेपाली नववर्ष २०८३ को पूर्वसन्ध्यामा वीरगञ्ज कपडा बैंकले घण्टाघर क्षेत्रमा निःशुल्क कपडा वितरण गर्दै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

गरीब तथा असहायलाई लक्षित गर्दै सञ्चालन हुँदै आएको उक्त अभियान अन्तर्गत शुक्रबार करिब १ हजार ५० थान नयाँ तथा पुराना कपडा वितरण गरिएको बैंकका उपाध्यक्ष प्रकाश थारुले जानकारी दिए। कार्यक्रममा SOUL SISTER वीरगञ्जको समेत सहकार्य रहेको थियो।

कार्यक्रमकै क्रममा वीरगञ्ज–१६ गणेशटोलस्थित सामाजिक संस्था SOUL SISTER का अध्यक्ष रिन्कु कायस्थको नेतृत्वमा नयाँ तथा पुराना कपडासहित नगद ४ हजार १ सय रुपैयाँ सहयोग निवर्तमान अध्यक्ष रम्भा मिश्रालाई हस्तान्तरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र कुर्मीले बैंकले “कोही पनि नाङ्गो नरहोस्” भन्ने उद्देश्यका साथ निरन्तर सेवा गर्दै आएको उल्लेख गर्दै मानव सेवामा सबैले आफ्नो आम्दानीको केही अंश योगदान गर्नुपर्ने धारणा राखे। उनले मानव सेवा नै सर्वोत्तम धर्म भएको बताउँदै नववर्षले आपसी एकता र भाइचारा मजबुत बनाओस् भन्ने शुभकामना व्यक्त गरे।

वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अधिवक्ता पन्नालाल गुप्ता, समाजसेवी वरुण चौरसिया लगायतले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता अभियानमा सहकार्य गर्न सबैलाई आग्रह गरे।

SOUL SISTER का अध्यक्ष रिन्कु कायस्थले कपडा बैंकको मानवसेवी कार्यप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा थप सहकार्य गर्ने प्रतिबद्धता जनाए।

अध्यक्ष सिंहले बैंकले विगत ७ वर्षदेखि दैनिक तथा विशेष अवसरमा निःशुल्क कपडा वितरण गर्दै आएको जानकारी दिँदै विपद्का समयमा समेत सहयोग गर्दै आएको बताए। उनले कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण दाता, संस्थाहरू, सञ्चारकर्मी तथा सहभागीहरूप्रति आभार व्यक्त गर्दै नववर्ष २०८३ ले शान्ति, समृद्धि र एकता ल्याओस् भन्ने कामना गरे।

कार्यक्रममा विभिन्न सामाजिक अभियन्ता, संस्थाका पदाधिकारी, सुरक्षाकर्मी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.