परराष्ट्रमन्त्री खनालको दाबी : प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्ता

55

काठमाडौं –  परराष्ट्रमन्त्री शिशिर खनालले भारतको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री बालेन्द्र शाह लाई निम्ता आएको दाबी गर्नुभएको छ।

नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन हाल मौरिससमा रहनुभएका मन्त्री खनालले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले शुभकामना सन्देशमार्फत नै भारत भ्रमणको निम्ता दिएको र त्यसमा नेपाल सरकारले सहमति जनाएको बताउनुभयो।

खनालका अनुसार उक्त निम्तोलाई प्रधानमन्त्री शाहले स्वीकार गरिसक्नुभएको छ, तर भ्रमणको मिति भने अझै तय हुन बाँकी रहेको छ।

यसैबीच, मौरिसस भ्रमणका क्रममा मन्त्री खनालले भारतीय विदेशमन्त्री एस जयशंकर सँग भेटवार्ता गर्नुभएको थियो। भेटमा नेपाल–भारतबीचका विभिन्न द्विपक्षीय विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो।

नेपाल र भारतबीच करिब ४० वटा द्विपक्षीय संयन्त्रहरू सक्रिय रहेको उल्लेख गर्दै मन्त्री खनालले अहिले देशका आन्तरिक प्राथमिकताहरू निर्धारणमा सरकार केन्द्रित रहेको बताउनुभयो।

तर, मन्त्री खनालले भारत भ्रमणको सन्दर्भ उल्लेख गरे पनि नेपाल सरकारको परराष्ट्र मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयले यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन ।

Leave A Reply

Your email address will not be published.