मधेश क्रिकेट लिग सिजन–२ : पर्साको शानदार जित, सर्लाही ४७ रनले पराजित

41

वीरगञ्ज, ०१ जेठ ।

मधेश क्रिकेट लिग (एमसीएल) सिजन–२ अन्तर्गत सम्पन्न खेलमा पर्साले सर्लाहीलाई ४७ रनले पराजित गर्दै शानदार जित दर्ता गरेको छ। वीरगञ्जस्थित टिभी साह क्रिकेट मैदानमा सम्पन्न खेलमा पर्साले उत्कृष्ट ब्याटिङ र कसिलो बलिङ प्रदर्शन गर्दै सर्लाहीमाथि दबाब बनाएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको पर्साले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४६ रन बनाएको थियो। पर्साका लागि मोहम्मद समीरले २५ बलमा ३१ रन तथा रुहुल हकले २७ बलमा २८ रनको योगदान दिएका थिए। सर्लाहीका पप्पु यादव र बिशाल पटेलले समान २–२ विकेट लिए।

१४७ रनको लक्ष्य पछ्याएको सर्लाही १६.१ ओभरमै ९९ रनमा अलआउट भयो। सर्लाहीका लागि बिशाल पटेलले १९ बलमा २९ रन तथा अली हसनले १६ बलमा २३ रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन। पर्साका लागि रञ्जित कुमारले २ विकेट लिए भने वासिम मन्सुरीले पनि उत्कृष्ट बलिङ गर्दै २ विकेट हात पारे।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका अनुज कुमार चौहान ‘प्लेयर अफ द म्याच’ घोषित भए।

मधेश क्रिकेट लिग सिजन–२ अन्तर्गत जारी प्रतियोगितामा विभिन्न जिल्लाका टोलीहरूको प्रतिस्पर्धाले क्रिकेटप्रेमीहरूमा उत्साह थपिएको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.