मधेस क्रिकेट लिग: महोत्तरीद्वारा रौतहट २० रनले पराजित
वीरगञ्ज, ०१ जेठ । आनन्द पटेल
मधेश क्रिकेट लिग (एमसीएल) सिजन–२ अन्तर्गत वीरगञ्जस्थित टिभी साह क्रिकेट मैदानमा सम्पन्न खेलमा महोत्तरीले रौतहटलाई २० रनले पराजित गरेको छ। रोमाञ्चक प्रतिस्पर्धामा महोत्तरीले उत्कृष्ट ब्याटिङ तथा अनुशासित बलिङ प्रदर्शन गर्दै महत्वपूर्ण जित हात पारेको हो।
पहिले ब्याटिङ गरेको महोत्तरीले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन बनाएको थियो। टोलीका लागि रवि कुमार सिंहले ३६ बलमा शानदार ५० रनको अर्धशतकीय इनिङ खेले भने अभिनाश अधिकारीले १४ बलमा २० रन जोडे। रौतहटका लागि मुकेश रामले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने डब्लु मलिकले ३ विकेट हात पारे।
१४५ रनको लक्ष्य पछ्याएको रौतहटले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२४ रन मात्रै बनाउन सक्यो। रौतहटका राहुल यादवले २३ बलमा २६ रन तथा विजय गुप्ताले १६ बलमा १८ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। महोत्तरीका अभिषेक तिवारीले घातक बलिङ गर्दै ४ विकेट लिए भने नितेश यादवले ३ विकेट लिएर टोलीको जित सुनिश्चित गरे।
उत्कृष्ट प्रदर्शन गरेका अभिषेक तिवारी ‘प्लेयर अफ द म्याच’ घोषित भए।
मधेश क्रिकेट लिग सिजन–२ अन्तर्गत जारी प्रतियोगिताले मधेश प्रदेशमा क्रिकेटप्रति उत्साह थप्दै युवा खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरिरहेको आयोजकले जनाएको छ।