पत्रकार आचारसंहिताबारे अनुशिक्षण सम्पन्न, केसी लामिछानेद्वारा व्यवहारिक प्रशिक्षण

79

वीरगञ्ज, १० जेठ ।

नेपाल पत्रकार महासंघ पर्साको आयोजनामा पत्रकार आचारसंहिता सम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। महासंघको सभाहलमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम ओम प्रकाश खनालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा अशोक तिवारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने श्याम बञ्जारा विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए। त्यसैगरी अतिथिहरूमा दिपेन्द्र चौहान, शम्भु सुमन लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा विशेष रूपमा प्रशिक्षक तथा पत्रकार केसी लामिछानेले पत्रकार आचारसंहिताको व्यवहारिक पक्षबारे सहजीकरण गरेका थिए। उनले पत्रकारितामा सत्यतथ्य, निष्पक्षता र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए। साथै समाचार सम्पादन गर्दा अपनाउनुपर्ने सावधानी, स्रोतको विश्वसनीयता, सामाजिक सञ्जालको प्रभाव तथा पछिल्लो समय पत्रकारितामा देखिएका चुनौतीबारे समेत उनले विस्तृत प्रशिक्षण दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अशोक तिवारीले पत्रकारितामा आचारसंहिताको पालना अत्यन्त आवश्यक रहेको बताएका छन्। उनले सञ्चारमाध्यमप्रतिको जनविश्वास कायम राख्न सत्यतथ्य, निष्पक्ष र जिम्मेवार समाचार सम्प्रेषण अपरिहार्य रहेको उल्लेख गरे। पत्रकारले समाजप्रति उत्तरदायी भएर काम गर्नुपर्नेमा जोड दिँदै उनले बढ्दो सूचना प्रवाहसँगै पत्रकारितामा चुनौती थपिएको बताए।

Leave A Reply

Your email address will not be published.