समुदाय–प्रहरी साझेदारीमा लागूऔषध विरुद्ध महाअभियान, विद्यार्थीलाई प्रशिक्षण
वीरगञ्ज, जेठ १९ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत श्री नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै “लागूऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान २०८३” सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर–११ का अध्यक्ष राम सरार्फको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका सहायक प्रहरी निरीक्षक रुपेश प्रसाद कुशवाहाले लागूऔषध, मदिरा, चुरोट तथा अन्य नशालु पदार्थको सेवनले व्यक्ति, परिवार र समाजमा गम्भीर नकारात्मक असर पार्ने बताउनुभयो। उहाँले युवावर्गमा बढ्दो कुलतको प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै विद्यार्थीहरूलाई समयमै सचेत भई यस्ता दुर्व्यसनबाट टाढा रहन आग्रह गर्नुभयो।

कुशवाहाले लागूऔषध सेवनले मानसिक सन्तुलन गुम्ने, आर्थिक तथा सामाजिक क्षति हुने र अन्ततः जीवन नै जोखिममा पर्न सक्ने भएकाले यसको रोकथाममा सबैको भूमिका आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर–११ का वरिष्ठ उपाध्यक्ष जयलाल शाह, सचिव दिलीप प्रधान, सहायक प्रिन्सिपल शाह, सामुदायिक प्रहरी सेवा केन्द्रका इन्चार्ज विश्वेश्वर प्रसाद शाह, प्रहरी जवान धनमाया दाहाल, सहायक प्रहरी हवल्दार सुरेन्द्र यादव, सदस्यहरू विपिन उपाध्याय, मधु सिंह, शिक्षक–शिक्षिका तथा कक्षा १० का विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष राम सरार्फले लागूऔषध दुव्र्यसनले उज्ज्वल भविष्यलाई अन्धकारतर्फ धकेल्ने भएकाले विद्यार्थीहरूलाई सचेत, अनुशासित र जिम्मेवार बन्न आग्रह गर्नुभयो।
कार्यक्रमको सहजीकरण सदस्य तथा पत्रकार जगत राईले गर्नुभएको थियो।