विश्व वातावरण दिवस : प्रकृति सेवा प्रतिष्ठानद्वारा जनचेतनामूलक साइकल र्‍याली

37

वीरगञ्ज, जेठ २० ओमप्रकाश सराफ — विश्व वातावरण दिवस २०८३ को अवसरमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिरहेको प्रकृति सेवा प्रतिष्ठान, नेपालले चौथो दिन बुधबार जनचेतनामूलक साइकल र्‍याली आयोजना गरी वातावरण संरक्षण सम्बन्धी सन्देश फैलाएको छ।

जीवन ज्योति स्कुलको सहकार्यमा आयोजित र्‍याली प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल, विद्यालयका प्रधानाध्यापक शिव गुप्ता, समाजसेवी भगवान श्रेष्ठ, वीरगञ्ज कपडा बैंकका अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंह, युवा अभियन्ता दिलिप कार्की, प्रतिष्ठानका सहसचिव अभिनाश झा, सदस्यहरू भोला प्रसाद, रुपनारायण सिंह, केदार गुप्ता, सञ्चारकर्मी आकाश पटेल, रानिघाट प्रहरी पोस्टका प्रहरीहरू, शिक्षक तथा कक्षा ९ र १० का करिब ५० विद्यार्थीहरूको सहभागिता रहेको थियो।

र्‍याली वीरगञ्ज–९ रानिघाटस्थित जीवन ज्योति स्कुलबाट सुरु भई घण्टाघर, बसपार्क, बाइपास रोड, नगवा, रेशमकोठी, मेनरोड, कैलाश होटल चौक, घडियर्वा पोखरी, माइस्थान हुँदै पुनः विद्यालय परिसरमा पुगेर समापन भएको थियो। र्‍यालीको उद्घाटन प्रधानाध्यापक शिव गुप्ताले हरियो झण्डा देखाएर गरेका थिए।

कार्यक्रममा बोल्दै प्रनि युवराज कटुवालले वातावरणले मानव जीवनलाई जन्मदेखि मृत्युसम्म आवश्यक हावा, पानी, अन्न, फलफूल, वनस्पति तथा जडीबुटी जस्ता जीवनदायी स्रोत निःशुल्क उपलब्ध गराउँदै आएको उल्लेख गर्दै यसको संरक्षण र संवर्द्धन गर्नु सबैको दायित्व भएको बताए। उनले ट्राफिक नियम पालना गर्न आग्रह गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरे।

प्रतिष्ठानका अध्यक्ष सरदार जसपाल सिंहले “हरियो, सफा र स्वस्थ वीरगञ्ज, प्लास्टिक झोला तथा प्रदूषणमुक्त वीरगञ्ज” र “धरतीलाई बचाऔँ, वातावरणलाई जोगाऔँ” भन्ने मूल नारालाई आत्मसात गर्दै विगत तीन दिनदेखि सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको र चौथो दिन साइकल र्‍यालीमार्फत जनजागरण फैलाइएको बताए।

उनले वातावरण संरक्षणप्रति नागरिकको जिम्मेवारी बोध गराउन यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने उल्लेख गर्दै सहभागी विद्यार्थी, शिक्षक तथा प्रतिष्ठानका सम्पूर्ण पदाधिकारीप्रति आभार व्यक्त गरेका थिए।

Leave A Reply

Your email address will not be published.