विश्व वातावरण दिवसमा गौतम विद्यालयको कक्षा सजावट प्रतियोगिता, कक्षा ९ ‘क’ प्रथम
वीरगञ्ज, जेठ २२ – विश्व वातावरण दिवस २०२६ को अवसरमा गौतम विद्यालयले वातावरणीय विषयवस्तुमा आधारित कक्षा सजावट प्रतियोगिता सम्पन्न गरेको छ। विद्यार्थीहरूमा वातावरण संरक्षणप्रति सचेतना अभिवृद्धि गर्ने, सिर्जनशीलता विकास गर्ने तथा वातावरणप्रतिको जिम्मेवारीबोध जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ।
प्रतियोगितामा विद्यार्थीहरूले पेन्टिङ, चित्रकला, सन्देशमूलक पोस्टर तथा पुनःप्रयोग गर्न सकिने सामग्रीको प्रयोग गरी आफ्ना कक्षाहरूलाई वातावरणमैत्री ढंगले सजाएका थिए। उनीहरूले हरियाली संरक्षण, जलवायु परिवर्तन, प्रदूषण नियन्त्रण, वृक्षारोपण तथा स्वच्छ वातावरणको महत्व झल्किने विविध सिर्जनात्मक सामग्री प्रस्तुत गरेका थिए।
विद्यालयका प्रिन्सिपल गणेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोडिनेटर रमेश शर्मा, ललित कर्ण, सौराज प्रधान लगायत शिक्षक-शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रतियोगिताको मूल्यांकन सञ्चारकर्मी निरज पिठाकोटे मगर, मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ता तथा एलाईड युथ सोसाइटीका संस्थापक ओमकुमार झाले गरेका थिए।
प्रतियोगिताको नतिजाअनुसार कक्षा ९ ‘क’ प्रथम, कक्षा ९ ‘घ’ द्वितीय, कक्षा ७ ‘घ’ तृतीय तथा कक्षा ९ ‘ख’ चौथो स्थान हासिल गर्न सफल भएका छन्।
कार्यक्रममार्फत विद्यार्थीहरूले वातावरण संरक्षणसम्बन्धी सन्देश सिर्जनात्मक ढंगले प्रस्तुत गर्दै स्वच्छ, हरित र दिगो वातावरण निर्माणप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए। विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा वातावरणीय चेतना र सामाजिक जिम्मेवारीको भावना अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ।