विश्व वातावरण दिवसमा मितेरी पुल क्षेत्रमा वृक्षारोपण र सरसफाइ, एसएसबीलाई बिरुवा हस्तान्तरण

38

जेष्ठ २२ वीरगन्ज । विश्व वातावरण दिवसको अवसरमा वीरगञ्ज महानगरपालिका, ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगर तथा सशस्त्र प्रहरीको संयुक्त आयोजनामा मितेरी पुल क्षेत्रमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

वातावरण संरक्षण, हरित वातावरणको प्रवर्द्धन तथा स्वच्छ सहर निर्माण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिनुका साथै क्षेत्रको सरसफाइ गरिएको थियो। कार्यक्रममा स्थानीयवासी, समाजसेवी, सुरक्षाकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रहरी प्रमुख हरि भुसाल, सशस्त्र प्रहरी भन्सार गुल्मका डीएसपी विकास अधिकारी, सामुदायिक प्रहरीका पदाधिकारी, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खेतानले वातावरण संरक्षण भावी पुस्ताप्रतिको जिम्मेवारीसमेत भएको उल्लेख गर्दै जलवायु परिवर्तन, बढ्दो प्रदूषण तथा हरियाली क्षेत्रको कमीले मानव जीवनमा प्रत्यक्ष असर पारिरहेको बताए। उनले प्रत्येक व्यक्तिले कम्तीमा एक बिरुवा रोपेर त्यसको संरक्षण गर्न सके वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरे।

खेतानले सामुदायिक प्रहरी र स्थानीय तहबीचको सहकार्यले सामाजिक तथा वातावरणीय क्षेत्रमा सकारात्मक परिणाम ल्याइरहेको उल्लेख गर्दै यस्ता जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिए।

कार्यक्रमपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ४७ औँ बटालियन, रक्सौलका प्रतिनिधिहरूलाई वातावरण संरक्षणमा सहकार्यको सन्देशस्वरूप पाँच वटा बिरुवा हस्तान्तरण गरिएको थियो। नेपाल–भारत सीमावर्ती क्षेत्रमा हरियाली प्रवर्द्धन तथा वातावरणीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले बिरुवा हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।

सहभागीहरूले वातावरण संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

Leave A Reply

Your email address will not be published.