विश्व वातावरण दिवसमा माउन्ट मकालु इङ्ग्लिस बोर्डिङ स्कुलद्वारा वृक्षारोपण तथा चित्रकला प्रतियोगिता सम्पन्न

78

वीरगञ्ज, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा वीरगञ्ज महानगरपालिका–१० अशोक वाटिकास्थित माउन्ट मकालु इङ्ग्लिस बोर्डिङ स्कुलले विविध कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रमअन्तर्गत कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरूले वृक्षारोपण गरेका थिए भने कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूका लागि चित्रकला प्रतियोगिता सञ्चालन गरिएको विद्यालयले जनाएको छ।

विद्यालयका अध्यक्ष कामेश्वर प्रसाद श्रीवास्तवको प्रमुख उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

वृक्षारोपण कार्यक्रममार्फत विद्यार्थीहरूमा वातावरण संरक्षणप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको विद्यालयले जनाएको छ। साथै चित्रकला प्रतियोगितामा विद्यार्थीहरूले वातावरण संरक्षणसम्बन्धी सन्देशमूलक चित्रहरू प्रस्तुत गरेका थिए।

विद्यालयका प्रधानाध्यापक राहुल श्रीवास्तवले यस्ता कार्यक्रमहरूले बालबालिकामा वातावरणप्रति जिम्मेवार नागरिक बन्ने भावना विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

Leave A Reply

Your email address will not be published.