नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालयबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

68

वीरगञ्ज, २५ जेठ। नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ।

सम्झौतापत्रमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी तथा कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेशका निर्देशक एवं वरिष्ठ वैज्ञानिक डा. विश्वेश्वर प्रसाद यादवले हस्ताक्षर गरेका छन्।

सम्झौताको मुख्य उद्देश्य कृषि अनुसन्धान निर्देशनालयमा कार्यरत सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारी तथा कामदारहरूलाई गुणस्तरीय, सहज र प्राथमिकताका आधारमा स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको छ। सम्झौताअनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारीहरूले नेशनल मेडिकल कलेजमा उपचार गराउँदा कोष अन्तर्गत उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवाहरू प्राथमिकताका साथ प्राप्त गर्नेछन्।

यस्तै, अस्पतालमा विशेष सामाजिक सुरक्षा कोष काउन्टरमार्फत लाभार्थीहरूलाई सेवा उपलब्ध गराइनेछ भने सामाजिक सुरक्षा कोषबाट व्यहोर्न बाँकी रहने सहभुक्तानी रकम निर्धारित अवधिभित्र भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

सम्झौतामा सामाजिक सुरक्षा कोषमा आबद्ध नभएका कृषि अनुसन्धान निर्देशनालयका कर्मचारी तथा परिवारजनलाई पनि विशेष सुविधा प्रदान गरिएको छ। उनीहरूले नेशनल मेडिकल कलेजमा उपचार गराउँदा प्रयोग्य सामग्री बाहेकका उपचार सेवामा २० प्रतिशत छुट तथा अस्पतालको फार्मेसीबाट खरिद गरिने औषधिमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन्।

दुवै संस्थाबीच भएको सहमतिअनुसार वार्षिक स्वास्थ्य परीक्षण, पूर्व–रोजगारी स्वास्थ्य परीक्षण, आवश्यकता अनुसार संस्थामै स्वास्थ्य सेवा प्रदान गर्ने तथा प्रत्येक तीन महिनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। साथै, कृषि अनुसन्धान निर्देशनालयद्वारा आयोजना गरिने विभिन्न कार्यक्रममा नेशनल मेडिकल कलेजलाई मेडिकल पार्टनरका रूपमा समावेश गरिने र आवश्यकताअनुसार संयुक्त कार्यक्रम तथा सहकार्य गतिविधि सञ्चालन गरिने व्यवस्था समेत गरिएको छ।

सम्झौताले कृषि अनुसन्धान निर्देशनालयका कर्मचारी, कामदार तथा परिवारजनहरूको स्वास्थ्य सेवामा पहुँच विस्तार हुनुका साथै गुणस्तरीय उपचार सेवा प्राप्त गर्न थप सहजता हुने अपेक्षा गरिएको छ।

सम्झौता कार्यक्रममा नेशनल मेडिकल कलेजका प्रमुख सूचना अधिकृत ई. प्रदीपकुमार चौधरी लगायत दुवै संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.