शारदा माध्यमिक विद्यालयमा एकमहिने विज्ञान तथा प्रविधि तालिम सुरु

50

वीरगञ्ज, पर्सा। वीरगञ्ज महानगरपालिका वडा नं. २४ को आर्थिक सहयोग तथा एडरोबोटिक्सको प्राविधिक सहकार्यमा सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि एकमहिने विज्ञान तथा प्रविधि तालिम कार्यक्रम श्री शारदा माध्यमिक विद्यालय, बहुअरीमा सुरु गरिएको छ।

विद्यार्थीहरूमा विज्ञान, प्रविधि, नवप्रवर्तन (इनोभेसन) तथा रचनात्मक सोचको विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमबाट उनीहरूको व्यावहारिक ज्ञान र सीप अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

विद्यालयका प्रधानाध्यापक अनिल कुमार वर्णवालको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि वडा नं. २४ का वडा अध्यक्ष विजय पटेल रहेका थिए। कार्यक्रममा वडा सदस्य सीता देवी र सदाम हुसेन, वडा सचिव सतीश श्रीवास्तव, सहायक सचिव सुरज यादवलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

तालिममा सिद्धार्थ पटेल, लालबाबु गिरी र दिनेश महतोले प्रशिक्षकका रूपमा विद्यार्थीहरूलाई विज्ञान तथा प्रविधिसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिरहेका छन्।

कार्यक्रममा बोल्दै वक्ताहरूले विज्ञान तथा प्रविधिको आधुनिक युगमा विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, अनुसन्धानमुखी सोच र आधुनिक सीपसँग जोड्नु आवश्यक रहेको बताए। यस्ता तालिमले विद्यार्थीहरूको क्षमता विकास गरी भविष्यका चुनौती सामना गर्न सक्षम बनाउने उनीहरूको भनाइ थियो।

सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई गुणस्तरीय तथा समयानुकूल शिक्षा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालन गरिएको यो कार्यक्रमले भविष्यमा दक्ष जनशक्ति उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा सञ्चालन भएको यस पहललाई शिक्षा क्षेत्रको गुणस्तर सुधार तथा विद्यार्थीहरूको क्षमता अभिवृद्धितर्फको सकारात्मक कदमका रूपमा हेरिएको छ।

कार्यक्रमको सञ्चालन शिक्षक यज्ञराज सापकोटाले गरेका थिए।

Leave A Reply

Your email address will not be published.