रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार–२०८३ बाट अशोक प्रधान सम्मानित
वीरगञ्ज, २६ जेठ। देशको प्रवेशद्वार तथा औद्योगिक नगरी वीरगञ्जका चर्चित फुटबल खेलाडी एवं लोकप्रिय गायक अशोक प्रधानलाई “रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार–२०८३” प्रदान गरी सम्मान गरिएको छ।
वीरगञ्ज तथा देशभर खेलकुद र संगीत क्षेत्रको विकास, प्रवर्द्धन तथा संवर्द्धनमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको समाजसेवी अशोक लाठले जानकारी दिए।
रिलिफ सोसाइटी अफ कमर्सको ३५औँ स्थापना दिवस तथा बुद्ध जयन्तीको अवसरमा प्रदान गरिने उक्त पुरस्कार विभिन्न कारणवश निर्धारित समयमा वितरण हुन नसकेपछि आइतबार आयोजित कार्यक्रममा प्रधानलाई सम्मान गरिएको हो।
सोसाइटीको कार्यालयमा आयोजित सम्मान कार्यक्रममा रिलिफ सोसाइटी अफ कमर्सका अध्यक्ष योगेन्द्र प्रसाद यादव, निवर्तमान अध्यक्ष अशोक लाठ, गणेश लाठ, नारायण रुङ्टा तथा निरज अग्रवाललगायतको उपस्थिति रहेको थियो।
सम्मान ग्रहणपछि बोल्दै अशोक प्रधानले रिलिफ सोसाइटी अफ कमर्सले समाजका दिनदुःखी, असहाय तथा पिछडिएका महिला र समुदायको सेवा र सहयोगमा निरन्तर सक्रिय रहँदै आएको बताए। साथै विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गर्दै हौसला प्रदान गर्ने कार्य अत्यन्त प्रशंसनीय रहेको उल्लेख गरे।
उनले यस्तो सम्मानले आफूलाई थप जिम्मेवार र उत्साहित बनाएको बताउँदै रिलिफ सोसाइटी परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गरे।