नवदीप एकेडेमीमा एकदिने योग शिविर सम्पन्न, विद्यार्थीलाई योग प्रशिक्षण

98

वीरगञ्ज, जेठ २९ – वीरगञ्ज महानगरपालिका–१५ भिसुवास्थित नवदीप एकेडेमीका विद्यार्थीहरूलाई लक्षित गरी एकदिने योग शिविर कार्यक्रम सम्पन्न भएको छ। “स्वस्थ शरीर, शान्त मन र सकारात्मक जीवनका लागि योग” भन्ने मूल नारासहित Lions Clubs International अन्तर्गत लायन्स क्लब वीरगञ्ज सेन्ट्रल सिटीको आयोजनामा शिविर सम्पन्न गरिएको हो।

कार्यक्रमको उद्घाटन डिस्ट्रिक्ट गभर्नर (डीजी) लायन राम बिहारी पाण्डेले गमलामा पानी हालेर गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले लायन्स क्लबले समाजका विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएको उल्लेख गर्दै योग शिविर पनि स्वास्थ्य प्रवर्द्धनसँग जोडिएको महत्वपूर्ण सामाजिक अभियान भएको बताए।

उनले योगको महत्वबारे प्रकाश पार्दै योगले मानिसलाई शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा शान्त तथा जीवनप्रति सकारात्मक बनाउने बताए। योग अभ्यासले तनाव न्यूनीकरण गर्नुका साथै आत्मविश्वास र आत्मिक शक्तिको विकास गर्न सहयोग पुग्ने उनको भनाइ थियो। विश्वभर योगप्रति बढ्दो आकर्षण रहेको उल्लेख गर्दै उनले प्रत्येक व्यक्तिले दैनिक कम्तीमा एक घण्टा योग अभ्यास गर्नुपर्ने सुझाव दिए।

नवदीप एकेडेमी बोर्डिङ स्कुलका प्रिन्सिपल तथा लायन्स क्लब वीरगञ्ज सेन्ट्रल सिटीकी अध्यक्ष सुशीला शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा योग प्रशिक्षक लालबहादुर महत्तो कोहिरी ले विद्यार्थीहरूलाई योगका विभिन्न आसन तथा त्यसका फाइदाबारे प्रशिक्षण दिएका थिए।

कार्यक्रमको सहजीकरण लायन्स क्लब वीरगञ्ज सेन्ट्रल सिटीकी सचिव कविता खड्का ले गरेकी थिइन्। शिविरमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.