नेपाली भाषा र साहित्य संरक्षणमा विद्यालय, परिवार र समाजको संयुक्त भूमिका आवश्यक

120

वीरगञ्ज, १ असार।

नेपाली भाषा र साहित्यप्रति विद्यार्थीहरूको रुचि अभिवृद्धि गर्दै यसको संरक्षण र प्रवर्द्धन गर्न विद्यालय, परिवार तथा समाजले साझा जिम्मेवारी निर्वाह गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

‘साहित्यको विकास, विस्तार र समाजसेवामा समर्पित’ भन्ने मूल नारासहित साहित्यिक चौतारी नेपाल मधेश प्रदेश समितिको आयोजनामा वीरगञ्ज पब्लिक कलेज (बिपिसी) मा सम्पन्न “नेपाली भाषा र साहित्य” विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।

कार्यक्रममा वीरगञ्जका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालय र कलेजमा नेपाली विषय अध्यापन गराउने शिक्षक–शिक्षिकाहरूले आफ्नो शिक्षण अनुभव, चुनौती तथा समाधानका उपायबारे विचार राखेका थिए। सहभागी शिक्षकहरूले भोजपुरी मातृभाषी क्षेत्र भएकाले विद्यार्थीलाई नेपाली भाषाको शुद्ध उच्चारण, व्याकरण तथा शब्दार्थ बुझाउन व्यवहारिक कठिनाइ हुने गरेको अनुभव सुनाए।

वक्ताहरूले भाषा र साहित्यको संरक्षण विद्यालयको प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै घरपरिवारमा नेपाली भाषाको प्रयोग बढाउन र समाजमा साहित्यिक गतिविधि विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए।

साहित्यिक चौतारी नेपालका मधेश प्रदेश वरिष्ठ उपाध्यक्ष प्रमोद पाण्डे ‘हेरम्ब’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार गणेशप्रसाद लाठ, साहित्यिक चौतारी नेपालकी केन्द्रीय अध्यक्ष गीता भण्डारी, ठाकुरराम बहुमुखी क्याम्पसका नेपाली विभाग प्रमुख ईन्द्रप्रसाद भट्टराई, बिपिसी कलेजका प्रिन्सिपल डा. बासुदेव कर्ण, नारायणी वाङ्मय प्रतिष्ठानका सचिव महेशचन्द्र गौतम तथा भोजपुरी प्रतिष्ठान वीरगञ्जकी अध्यक्ष अनिता साहलगायतले नेपाली भाषाको वर्तमान अवस्था, चुनौती र सुधारका उपायबारे धारणा राखेका थिए।

सो अवसरमा संस्थाकी उपाध्यक्ष सुशीला भण्डारी, कार्यसमिति सदस्य अजमत अली अन्सारी, उमेश अवस्थी आदर्श, अस्मिता पटेललगायतले आफ्ना साहित्यिक रचनाहरू वाचन गरेका थिए।

कार्यक्रममा साहित्यिक चौतारी नेपाल मधेश प्रदेशकी सहसचिव प्रिया मिश्रले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सञ्चालन संस्थाका सचिव सूर्य शुभचिन्तकले गरेका थिए।

Leave A Reply

Your email address will not be published.