बिकन स्कुलका विद्यार्थीद्वारा भिस्वा डाँडामा सरसफाइ अभियान, वातावरण संरक्षणबारे जनचेतना फैलाइयो

49

वीरगञ्ज, ३१ जेठ ।

वीरगञ्ज महानगरपालिका–४ भगवतीटोलस्थित बिकन स्कुलका विद्यार्थीहरूले सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन्। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको समूह ‘बिकन सोसल वेलफेयर युनिट’को आयोजनामा वीरगञ्ज–१५ स्थित भिस्वा डाँडा परिसरमा व्यापक सरसफाइ अभियान सञ्चालन गरिएको हो।

समाजसेवी तथा विद्यालयका सञ्चालक प्रकाश उपाध्यायको नेतृत्वमा सम्पन्न कार्यक्रममा प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंह, सचिव अविनाश झा, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव तथा समाजसेवी श्रवणबहादुर रायमाझी, विद्यालयका लेखापाल तथा प्रशिक्षक सुभाष सिंह, कार्यक्रम संयोजक शिक्षक रोहित शर्मा, बिकन सोसल वेलफेयर युनिटका संयोजक सौरभ गिरिलगायत शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

अभियानका क्रममा सहभागीहरूले भिस्वा डाँडा परिसरमा रहेको फोहोर संकलन गरी वातावरण सफा बनाउनुका साथै स्थानीय बासिन्दालाई सरसफाइको महत्वबारे जानकारी दिएका थिए। साथै वातावरण संरक्षण, फोहोर व्यवस्थापन तथा सार्वजनिक स्थलहरूलाई स्वच्छ राख्नुपर्ने विषयमा जनचेतनामूलक सन्देशसमेत प्रवाह गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष सरदार जसपाल सिंहले फोहोर उत्पादन नै कम गर्न सके सरसफाइको आवश्यकता पनि न्यून हुने बताए। उनले फोहोरको उचित व्यवस्थापनले वातावरण स्वच्छ र स्वस्थ रहने उल्लेख गर्दै घर, टोल, गाउँ तथा शहरलाई सफा राख्न प्रत्येक नागरिक जिम्मेवार बन्नुपर्ने धारणा राखे।

त्यसैगरी विद्यालयका सञ्चालक प्रकाश उपाध्यायले सरसफाइ मानव जीवनको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै यसले मानिसलाई निरोगी र स्वस्थ राख्न मद्दत गर्ने बताए। विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व र वातावरणीय चेतना विकास गर्ने उद्देश्यले विद्यालयमा सोसल वेलफेयर युनिट गठन गरिएको जानकारी दिँदै उनले यस्ता गतिविधिले जिम्मेवार नागरिक निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा समाजसेवी श्रवणबहादुर रायमाझीले सरसफाइ केवल व्यक्तिगत स्वच्छतामा सीमित नरही टोल, समाज, विद्यालय, धार्मिक स्थल, पोखरी तथा नदीहरूको संरक्षणसँग पनि जोडिएको बताए। उनले विद्यालय तहबाटै विद्यार्थीहरूलाई व्यवहारिक अभ्यासमार्फत वातावरण संरक्षणमा सहभागी गराउनुपर्ने आवश्यकता औँल्याए।

विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको उक्त कार्यक्रम वातावरण संरक्षण, सरसफाइ संस्कृतिको विकास तथा सामाजिक उत्तरदायित्व प्रवर्द्धनका दृष्टिले प्रभावकारी बनेको आयोजकले जनाएको छ। विद्यालयले आगामी दिनमा पनि यस्ता जनहितकारी तथा वातावरणमैत्री कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Leave A Reply

Your email address will not be published.