प्रहरीको समन्वयमा छोरीको बिहेका लागि दुई परिवारलाई नगद सहित भाडावर्तन सहयोग
वीरगन्ज,११ बैशाख वीरगन्जमा नेपाल प्रहरीको समन्वयमा बिपन्न दुई परिवारलाई छोरीको बिहेका लागि नगद रकम र भाडावर्तन सहयोग गरिएको छ ।
प्रहरी चौकी ईनर्वा र सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको समन्वयमा अल मन्सुर फाउण्डेनका अध्यक्ष जेयाउल हक समानी र राईजीङ वीरगन्ज नेपालका अध्यक्ष अब्दस मुस्तफा आरजुले दुई परिवारलाई छोरीको बिहेका लागि नगदसहित सामान सहयोग गरेका हुन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का महम्मद हसन शेख र भारत बिहारको पूर्वी चम्पारणको महादेवा गाँउका आविद हुसेनलाई जनही नगद पाँच हजारका साथै भान्सामा प्रयोग हुने भाँडावर्तन सहयोग गरिएको सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जानकारी दिए ।
मंगलबार प्रहरी चौकी ईनर्वा परिसरमा वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीको विशेष उपस्थितीमा नगदसहित ती सामान शेख र हुसेन परिवारलाई प्रदान गरिएको प्रहरी चौकी ईनर्वाका इन्चार्ज प्रहरी नायब निरीक्षक तेजप्रताप सिंहले जानकारी दिए ।
ठकुराईको अध्यक्षतामा भएको कार्यक्रममा अल मंसुर फाउण्डेशनका अध्यक्ष जेयाउल हक समानीको पनि उपस्थिती रहेको थियो ।