वीरगञ्जको नेतृत्व परिवर्तनका लागि सुधीर पटेलको पक्षमा युवा जुटे
वीरगञ्ज, असार २० ।
आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै वीरगञ्ज महानगरपालिकाको मेयर पदका आकांक्षी सुधीर पटेलको पक्षमा शनिबार वीरगञ्जमा युवा भेला सम्पन्न भएको छ।
आदर्शनगरस्थित त्रिशला होटलमा रन्दीप श्रीवास्तवको अध्यक्षतामा आयोजित भेलामा वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाबाट करिब २२० जना युवा अगुवा तथा प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
भेलामा सहभागी वक्ताहरूले जेन–जि आन्दोलनको मर्म, सिद्धान्त र उद्देश्यलाई आत्मसात् गर्दै आगामी स्थानीय तह निर्वाचनमा सुधीर पटेललाई मेयर पदमा विजयी गराउन युवाहरू संगठित भएर घरदैलोदेखि जनस्तरसम्म अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
जेन–जि पर्साका मुख्य सल्लाहकार बिरेन्द्र कण्ठले परिवर्तनको नेतृत्व युवाहरूले गर्नुपर्ने बताउँदै सुधीर पटेलको पक्षमा व्यापक जनसमर्थन जुटाउन आग्रह गरे। उनले वीरगञ्जको समग्र विकासका लागि सक्षम, इमानदार र जनउत्तरदायी नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरे।
विभिन्न वडाका प्रतिनिधिहरूले पनि यसपटक वीरगञ्जमा नयाँ नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्दै अवसरवादी राजनीति तथा व्यक्तिगत स्वार्थका लागि निर्वाचनमा होमिने प्रवृत्तिको विरोध गरे। उनीहरूले विगतमा ठेकेदार तथा व्यापारी केन्द्रित नेतृत्व चयन हुँदै आएको दाबी गर्दै यसपटक मतदाताले परिवर्तनको पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रमका उद्घोषक महादेव प्रसाद कुर्मीले जेन–जि आन्दोलनपछि देशमा परिवर्तनको वातावरण बनेको उल्लेख गर्दै स्थानीय तह निर्वाचनमार्फत पनि त्यसलाई संस्थागत गर्नुपर्ने बताए। उनले वीरगञ्जलाई ठेकेदार तथा व्यापारी केन्द्रित राजनीतिक प्रभावबाट मुक्त गराउन सम्पूर्ण नगरवासीलाई परिवर्तनको अभियानमा सहभागी हुन आह्वान गरे।
भेलामा राम आर्य, महमुद अन्सारी, नितेश योगी, मुकेश राउत कुर्मी, सुरेश गुप्ता, सागिर अन्सारी (कावरवाला), अमर सराफ, अमित पटेल, विक्की सराफ, एम.डी. ओसामा लगायतले पनि मन्तव्य व्यक्त गर्दै आगामी निर्वाचनमा सुधीर पटेललाई मेयर पदमा विजयी गराउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको समापन अध्यक्ष रन्दीप श्रीवास्तवले गरेका थिए।