सञ्जु साहको नेतृत्वमा गण्डक चेकपोस्टमा नयाँ राष्ट्रिय झण्डा स्थापना, युवाको पहलले फेरियो सीमा क्षेत्रको पहिचान

143

कलैया/असार २० आनन्द पटेल।

बारा–पर्सा जोड्ने कलैया–वीरगञ्ज सडकखण्ड अन्तर्गत गण्डक चेकपोस्टमा लामो समयदेखि च्यातिएको अवस्थामा रहेको राष्ट्रिय झण्डा शनिबार नयाँ झण्डाले प्रतिस्थापन गरिएको छ। युवा समाजसेवी तथा बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा प्रत्याशी सञ्जु साहको नेतृत्वमा स्थानीय युवाहरूले संयुक्त रूपमा नयाँ राष्ट्रिय झण्डा स्थापना गरेका हुन्।

भारत–नेपाल सीमावर्ती महत्वपूर्ण प्रवेशद्वारका रूपमा रहेको गण्डक चेकपोस्ट हुँदै दैनिक रूपमा आन्तरिक तथा भारतीय पर्यटक आवतजावत गर्ने गर्छन्। विशेषगरी गढीमाई मन्दिर दर्शन तथा अन्य धार्मिक एवं पर्यटकीय गन्तव्यमा जाने आगन्तुकका लागि यो क्षेत्र प्रवेशद्वार भएकाले राष्ट्रिय झण्डाले देशको पहिचान, राष्ट्रिय गौरव र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले नयाँ झण्डा स्थापना गरिएको सञ्जु साहले बताए।

उनले राष्ट्रिय झण्डा प्रत्येक नेपालीको सम्मान र स्वाभिमानको प्रतीक भएकाले यसको संरक्षण, सुरक्षा र सम्मान गर्नु सबै नागरिकको साझा दायित्व भएको उल्लेख गरे। लामो समयदेखि च्यातिएको झण्डा देख्दा दुःख लागेको र त्यसलाई समयमै प्रतिस्थापन गर्न स्थानीय युवाहरूको सक्रियतामा यो अभियान सञ्चालन गरिएको उनको भनाइ थियो।

झण्डा स्थापना कार्यक्रममा परवानीपुर गाउँपालिका–५ का वडाध्यक्ष रामेश्वर साह कलवार, इलाका प्रहरी कार्यालय प्रसौनीका सुरक्षाकर्मी, स्वच्छ समाज युवा क्लबका उपाध्यक्ष उमेश साह, महासचिव त्रिलोक प्रताप सिंह, वरिष्ठ सदस्य सरोजकुमार यादव, पत्रकार अनिल गुप्ता, कृष्णा साह, लालबाबु यादव, रणजित साह,  पूर्व वडा अध्यक्ष बैजु गुप्ता तथा स्थानीय युवा र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सहभागीहरूले राष्ट्रिय झण्डाको सम्मान र संरक्षणका लागि सबै नागरिक सचेत हुनुपर्नेमा जोड दिँदै यस्ता सकारात्मक अभियानले समाजमा राष्ट्रिय भावना थप सुदृढ हुने विश्वास व्यक्त गरेका थिए। यो कार्यक्रमको सफल बनाउनमा सक्रिय युवा नामोजी गुप्ताको विशेष भूमिका रहेको थियो ।

Leave A Reply

Your email address will not be published.