वीरगञ्जमा दुईदिने पर्सा चेस च्याम्पियनसिप सुरु, १०० खेलाडी प्रतिस्पर्धामा
वीरगञ्ज, असार २० — युथलिङ्क वीरगञ्जको आयोजना तथा पर्सा जिल्ला बुद्धीचाल संघको सहकार्यमा दुईदिने पर्सा चेस च्याम्पियनसिप शनिबारदेखि वीरगञ्ज स्थित बीपीसी कलेजको सभाहलमा सुरु भएको छ। प्रतियोगितामा पर्सा जिल्लाभरबाट करिब १०० जना खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन पर्सा जिल्ला बुद्धीचाल संघका अध्यक्ष शुल्भ केसीको प्रमुख आतिथ्य तथा युथलिङ्क वीरगञ्जका अध्यक्ष अभिषेक सरार्फको अध्यक्षतामा सम्पन्न भएको हो। अतिथिहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरी प्रतियोगिताको शुभारम्भ गरेका थिए।
उद्घाटन कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी, सञ्चारकर्मी अभिलाष गुप्ता, सन्तोष कुशवाहा, युथलिङ्क वीरगञ्जका उपाध्यक्ष रोशनकुमार सोनार, बीपीसी कलेजका निर्देशक डा. अरबिन्द श्रेष्ठ, बासु कर्ण लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर सौगात गिरी तथा प्रमुख निर्णायक (चिफ आर्बिटर) मिसन बास्कोटा रहेका छन्। प्रतियोगिता स्विस लिग प्रणाली अनुसार सात चरणमा सञ्चालन हुनेछ। पहिलो दिन चार तथा दोस्रो दिन तीन चरणका खेल सम्पन्न भएपछि प्रतियोगिताको समापन गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य पर्सा जिल्लामा बुद्धीचाल खेलको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरण उपलब्ध गराउनु हो। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आगामी प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुन प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहमा वक्ताहरूले बुद्धीचाल खेलले विद्यार्थी तथा युवामा तार्किक सोच, निर्णय क्षमता, धैर्यता र एकाग्रताको विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै यस्ता प्रतियोगिताले जिल्लामा खेल संस्कृतिको प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।