प्रतिनिधिसभामा हरि पन्तको प्रश्न: वीरगञ्जका क्यासिनो र लागूऔषध तस्करी नियन्त्रणमा सरकार किन मौन?

36

काठमाडौं, असार २२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य हरि पन्तले जनसरोकारका विषयमा सरकार गम्भीर नदेखिएको भन्दै प्रतिनिधिसभामा असन्तुष्टि व्यक्त गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले जनप्रतिनिधिहरूले सदनमा उठाएका विषय प्रभावकारी रूपमा सरकारसम्म नपुगिरहेको भन्दै सभामुखको ध्यानाकर्षण गराए। उनले जनताका आवाज सरकारसम्म पुर्‍याउने प्रभावकारी संयन्त्र आवश्यक रहेको बताए।

सांसद पन्तले वीरगञ्जका अधिकांश तारे होटलमा सञ्चालित क्यासिनोमा नेपाली नागरिकलाई समेत प्रवेश गराइएको भन्दै स्थानीयवासीबाट व्यापक गुनासो आएको उल्लेख गरे। विदेशी पर्यटकका लागि सञ्चालन गरिएका क्यासिनोमा प्रहरी–प्रशासनको मिलेमतोमा नेपालीलाई प्रवेश दिइएको आरोप स्थानीयले लगाइरहेको उनको भनाइ थियो।

क्यासिनोको लतका कारण व्यवसायी, युवा उद्यमी, मध्यमवर्गीय परिवार तथा विभिन्न पेशामा आबद्ध व्यक्तिहरू आर्थिक र सामाजिक रूपमा प्रभावित भइरहेको उल्लेख गर्दै उनले सभामुखमार्फत सरकार तथा पर्सा प्रशासनलाई नेपाली नागरिकको क्यासिनो प्रवेश पूर्ण रूपमा रोक्न प्रभावकारी कदम चाल्न आग्रह गरे।

त्यसैगरी, वीरगञ्ज नाकाबाट भारततर्फ गाँजा, चरेसलगायत लागू औषधको तस्करी भइरहेको तथा भारतीय सुरक्षा निकायले पटक–पटक ठूलो परिमाणमा लागूऔषध बरामद गरिरहेको समाचार सार्वजनिक भइरहेका बेला पर्सा प्रहरीको भूमिकामाथि पनि सांसद पन्तले प्रश्न उठाए।

सीमावर्ती क्षेत्रमा लागूऔषध तस्करी नियन्त्रणमा सुरक्षा निकायलाई थप जिम्मेवार र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउँदै उनले यस विषयमा तत्काल आवश्यक कदम चाल्न माग गरे।

Leave A Reply

Your email address will not be published.