गोल्डेन फ्युचर सहकारी १९औँ वर्षमा प्रवेश, सेवा विस्तारसँगै नयाँ भवनबाट सञ्चालन हुने

36

वीरगञ्ज। गोल्डेन फ्युचर बचत तथा ऋण सहकारी संस्थाले स्थापना भएको १८ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै १८औँ वार्षिकोत्सव मनाएको छ।

संस्थाका अध्यक्ष राजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष, सचिव कन्हैया पटेल र कोषाध्यक्ष चन्द्रिका शाहले संयुक्त रूपमा केक काटेर संस्थाको १८ वर्षे सफल यात्राको खुसी साटासाट गरेका थिए। कार्यक्रममा सञ्चालक समिति, कर्मचारी तथा बजार प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सचिव कन्हैया पटेलले विद्यार्थी जीवनमा साथीहरू मिलेर नास्ता खर्चबाट बचत गरिएको प्रतिव्यक्ति ५०० रुपैयाँबाट सुरु भएको संस्था आज करोडौँ रुपैयाँ पुँजी भएको सहकारीका रूपमा स्थापित भएको बताए। संस्थाको यो सफलता संस्थापक, कर्मचारी, शेयर सदस्य तथा सेवाग्राहीको विश्वास र साथको प्रतिफल भएको उनको भनाइ थियो।

व्यवस्थापक दीपक कुमार चौधरीले कोरोना महामारीजस्तो चुनौतीपूर्ण समयमा पनि संस्थाले सदस्यलाई निरन्तर सेवा दिँदै विश्वास कायम राख्न सफल भएको उल्लेख गरे।

अध्यक्ष राजकुमार गुप्ताले १९औँ वर्षमा प्रवेशसँगै सेवा विस्तारलाई थप प्रभावकारी बनाइने जानकारी दिँदै हाल आदर्शनगरस्थित सराफ मार्केटबाट सञ्चालन भइरहेको कार्यालय आगामी श्रावणदेखि वीरगञ्ज महानगरपालिका–८, लिङ्क रोडस्थित नयाँ तथा सुविधासम्पन्न भवनबाट सञ्चालन गरिने बताए।

उनले नयाँ भवनबाट सदस्य तथा सेवाग्राहीले अझ सहज, छिटो, सुरक्षित र गुणस्तरीय वित्तीय सेवा पाउने विश्वास व्यक्त गर्दै डिजिटल सेवा विस्तार, सुशासन, पारदर्शिता र सदस्यमैत्री सेवामा विशेष जोड दिइने बताए।

कार्यक्रमका वक्ताहरूले सहकारीले बचत तथा ऋण सेवासँगै सदस्यहरूको आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास र सामाजिक उत्तरदायित्वमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

Leave A Reply

Your email address will not be published.