नेशनल प्याब्सन पर्साद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ विद्यार्थी सम्मानित
वीरगञ्ज, असार २७ — राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका ५६ जना विद्यार्थीलाई सम्मान गरेको छ।
वीरगञ्जस्थित होटल भिस्वामा आयोजित ‘SEE 2082 Excellence Honor Award’ कार्यक्रममा नेशनल प्याब्सनमा आबद्ध विभिन्न विद्यालयका उत्कृष्ट विद्यार्थीलाई खादा, टीका तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको हो।
नेशनल प्याब्सन पर्साका नगर अध्यक्ष जियालाल गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलम प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा नेशनल प्याब्सनका संस्थापक सदस्य रामबिनय चौरसिया, सचिव सुशील भट्टराई, केन्द्रीय सदस्य अर्बिन्द सिंह, पर्सा हिसानका अध्यक्ष मुकेश गुप्ता, प्याब्सन नगर अध्यक्ष राहुल श्रीवास्तवलगायत विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष जियालाल गुप्ताले उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्नुको उद्देश्य उनीहरूमा थप हौसला जगाउनुका साथै अन्य विद्यार्थीलाई पनि उत्कृष्ट नतिजा हासिल गर्न प्रेरित गर्नु रहेको बताए। उनले गुणस्तरीय, व्यवहारिक र प्रतिस्पर्धात्मक शिक्षामार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा नेशनल प्याब्सन पर्सा निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रमुख अतिथि कार्यवाहक मेयर इम्तियाज आलमले सम्मानित विद्यार्थीलाई बधाई दिँदै शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गरे। उनले भविष्यमा पनि मेहनत, अनुशासन र सकारात्मक सोचका साथ अघि बढ्न विद्यार्थीलाई आग्रह गर्दै वीरगञ्जको शैक्षिक विकासमा निजी विद्यालयहरूको योगदान प्रशंसनीय रहेको बताए।
कार्यक्रममा सम्मानित विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले यस्ता सम्मान कार्यक्रमले थप उत्साह र प्रेरणा मिलेको प्रतिक्रिया दिएका थिए। नेशनल प्याब्सन पर्साले आगामी वर्षहरूमा पनि उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।