सुनसरीको तनावबीच नौ राजनीतिक दलको संयुक्त आह्वान– शान्ति र संयमता अपनाऔँ

8

काठमाडौं । सुनसरीलगायत विभिन्न जिल्लामा विकसित पछिल्ला घटनाक्रमलाई मध्यनजर गर्दै नौ राजनीतिक दलले शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न संयुक्त अपिल जारी गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि दलका प्रमुख तथा प्रतिनिधिहरूले सातबुँदे संयुक्त अपिल सार्वजनिक गर्दै उत्पन्न समस्याको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार तथा समाजसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

संयुक्त अपिलमा सामाजिक सद्भाव, सहिष्णुता र पारस्परिक भाइचारालाई खल्बल्याउने कुनै पनि गतिविधि वा उत्तेजनामा नलाग्न सबै नागरिकलाई आग्रह गरिएको छ। आवेग, हिंसा र मुठभेडले समस्या समाधान गर्नुको सट्टा थप जटिलता निम्त्याउने भएकाले संयमता अपनाउन दलहरूले आह्वान गरेका छन्।

दलहरूले प्रदेश, जिल्ला तथा स्थानीय तहमा तत्काल सर्वदलीय र सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई समुदायस्तरसम्म विस्तार गर्न तथा विश्वासको वातावरण निर्माण गर्न सम्बन्धित पार्टी संरचनालाई निर्देशन दिएका छन्। साथै धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनबीच प्रभावकारी समन्वय गर्दै शान्ति कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।

संयुक्त अपिलमा सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न नागरिकलाई अनुरोध गरिएको छ भने सञ्चारमाध्यमलाई तथ्यपरक, सन्तुलित र संयमित सूचना सम्प्रेषण गर्न आग्रह गरिएको छ।

यस्तै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न, पीडितलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न सरकारसँग संयुक्त रूपमा माग गरिएको छ।

Leave A Reply

Your email address will not be published.