कञ्चनजङ्घा स्कुलमा शिक्षक दिवस भव्य रूपमा सम्पन्न, शिक्षाले नै सभ्य र समृद्ध समाज निर्माण गर्ने चौगाईको भनाइ

49

वीरगञ्ज, साउन १३ ।
वीरगञ्जस्थित कञ्चनजङ्घा इङ्ग्लिस स्कुलमा शिक्षक दिवस–२०८३ विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।

“असल शिक्षकले आशा जगाउँछन्, कल्पनाशक्तिलाई प्रेरित गर्छन् र सिकाइ प्रतिको प्रेम विकास गराउँछन्” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौगाईले शिक्षक राष्ट्र निर्माणका वास्तविक शिल्पी भएको बताउनुभयो। उहाँले विद्यार्थीको व्यक्तित्व विकास, अनुशासन, नैतिकता तथा जीवनमा सफलता हासिल गर्न शिक्षकको भूमिका अतुलनीय रहेको उल्लेख गर्नुभयो।

विद्यालय केवल पठनपाठन गर्ने थलो मात्र नभई असल नागरिक उत्पादन गर्ने पवित्र संस्था भएको बताउँदै उहाँले विद्यार्थीलाई सिर्जनशील, अनुशासित र जिम्मेवार बनाउन शिक्षक, अभिभावक र विद्यालयबीचको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले शिक्षकप्रति सम्मान र कृतज्ञता व्यक्त गर्दै समाजले शिक्षकको योगदानलाई सधैँ उच्च मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा विद्यालयका साना विद्यार्थीहरूले नृत्य, गीत, कविता वाचन, नाटक तथा विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए। विद्यार्थीहरूको आकर्षक प्रस्तुतिले उपस्थित अतिथि, अभिभावक तथा दर्शकहरूको मन जितेको थियो।

विद्यालयका डाइरेक्टर मार्टिन मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका पूर्व उपाध्यक्ष युवराज खडका, मधेश प्रदेश नेत्रहीन क्रिकेट संघका अध्यक्ष महेश साह, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी लगायत सञ्चारकर्मी, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा शिक्षकहरूको सम्मान, विद्यार्थी प्रतिभा प्रदर्शन तथा गुरु–शिष्य सम्बन्धको महत्वबारे वक्ताहरूले प्रकाश पार्दै यस्ता कार्यक्रमले शिक्षकप्रतिको सम्मान बढाउनुका साथै विद्यार्थीमा सिर्जनशीलता र आत्मविश्वास विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

Leave A Reply

Your email address will not be published.