विश्व स्तनपान सप्ताह: नेशनल मेडिकल कलेजमा शैक्षिक खेलौना प्रदर्शनीसहित जनचेतना कार्यक्रम सम्पन्न
वीरगञ्ज, २० साउन २०८३। विश्व स्तनपान सप्ताह २०२६ अन्तर्गत चौथो दिन नेशनल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल, वीरगञ्जको नर्सिङ विभागले बालरोग वार्ड परिसरमा शैक्षिक खेलौना प्रदर्शनी तथा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
“Breastfeeding for a Sustainable Start in Life: Strengthen What Works” भन्ने नारासहित आयोजित कार्यक्रमको उद्घाटन अस्पताल निर्देशक डा. इशरत जहानले गर्नुभएको थियो। कार्यक्रममा शैक्षिक खेलौना र विश्व स्तनपान सप्ताहसम्बन्धी पोस्टर प्रदर्शनी गरिएको थियो।
प्रदर्शनीमार्फत बालबालिकाको सिर्जनात्मक क्षमता, बौद्धिक विकास तथा खेलआधारित सिकाइको महत्त्वबारे जानकारी दिइएको थियो। साथै, स्तनपानसम्बन्धी पोस्टरमार्फत आमाहरूलाई सही स्तनपान विधि, शिशुलाई स्तनपान गराउने उचित तरिका तथा शिशुको स्वस्थ विकासमा स्तनपानको भूमिकाबारे सचेतना फैलाइएको थियो।
कार्यक्रममा गौतम स्कुल, नवदीप एकेडेमी, वीरगञ्ज पब्लिक स्कुल, लिटल बडी तथा चिल्ड्रेन मोन्टेसरीका कक्षा १ देखि ५ सम्मका करिब ७६२ जना विद्यार्थी तथा शिक्षक सहभागी भएका थिए। उनीहरूले शैक्षिक खेलौनाको अवलोकन गर्दै खेल्दै सिक्ने विधि, सिर्जनात्मकता तथा बाल विकासका विभिन्न पक्षबारे जानकारी प्राप्त गरेका थिए।
यस अवसरमा नवप्रसूता आमाहरूलाई मातृ–शिशु सम्बन्धलाई अझ सुदृढ बनाउन बेबी–मदर फोटो फ्रेम वितरण गरिएको थियो। यस पहलले अस्पतालमा मातृमैत्री तथा शिशुमैत्री वातावरण प्रवर्द्धन गर्न सकारात्मक योगदान पुग्ने आयोजकको विश्वास रहेको छ।
नर्सिङ विभागले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अस्पताल प्रशासन, कर्मचारी, सहभागी विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक तथा आमाहरूलाई धन्यवाद ज्ञापन गरेको छ।