सिमेन्टको बोरामा लुकाएर ल्याइएको २०७ किलो गाँजा सहित पिकअप र चालक पक्राउ

64

वीरगञ्ज, साउन २० — पर्सा प्रहरीले २०७ किलोग्राम लागूऔषध गाँजा सहित एक पिक अप गाडी र चालकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा साउन १९ गते साँझ करिब ६ः३० बजे इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिराभवानी गाउँपालिका–५ स्थित सडकखण्डमा प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको टाटा योद्धा पिकअप गाडी रोकी जाँच गरेको थियो।

जाँचका क्रममा पिकअपभित्र सिमेन्टका बोरामा लुकाएर राखिएको अवस्थामा २०७ किलोग्राम लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनामा गाडी चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ निवासी ४८ वर्षीय कृष्ण लामालाई गाँजासहित नियन्त्रणमा लिइएको छ।

बरामद गाँजा, पिक अप गाडी तथा चालकलाई नियन्त्रणमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लका अनुसार लागूऔषध ओसारपसारमा संलग्न व्यक्ति तथा सञ्जालको पहिचान गरी अनुसन्धानलाई तीव्र बनाइएको छ।

Leave A Reply

Your email address will not be published.