नेशनल मेडिकल कलेज र नयी दिशा एजुकेशनल सोसाइटीबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
वीरगञ्ज, असार २९।
नेशनल मेडिकल कलेज प्रालि, वीरगञ्ज र भारतको नयी दिशा एजुकेशनल सोसाइटीबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी तथा नयी दिशा एजुकेशनल सोसाइटीका सचिव सुरेन्द्र कुमार सिंहले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार नयी दिशा एजुकेशनल सोसाइटीका बोर्ड सदस्य, कर्मचारी, समुदायका सदस्य तथा कर्मचारीका प्रत्यक्ष आश्रित परिवारजनले नेशनल मेडिकल कलेजबाट गुणस्तरीय, सहज र सहुलियतपूर्ण स्वास्थ्य सेवा प्राप्त गर्नेछन्।
लाभग्राहीहरूले ओपीडी टिकट, बेड, शल्यक्रिया, प्याथोलोजी परीक्षण, सिटी स्क्यान, एमआरआई, एक्स–रे, ईसीजी, ईको, टीएमटी तथा औषधि सेवासहित विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउने व्यवस्था गरिएको छ। साथै, आवश्यकताअनुसार विशेष स्वास्थ्य परीक्षण (वेलनेस प्याकेज), नगदरहित (क्यासलेस) बीमा सेवाको सहजीकरण तथा नियमित स्वास्थ्य सेवामा प्राथमिकता प्रदान गरिने जनाइएको छ।
सम्झौताअन्तर्गत प्रत्येक तीन महिनामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गर्ने, आवश्यकताअनुसार स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गर्ने र दुवै संस्थाबीच संयुक्त स्वास्थ्य तथा सामाजिक गतिविधि सञ्चालन गर्ने सहमति भएको छ।
सम्झौताले नयी दिशा एजुकेशनल सोसाइटीका सदस्य तथा उनीहरूका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच दिलाउनुका साथै नेपाल–भारतबीच स्वास्थ्य क्षेत्रको संस्थागत सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
सम्झौता कार्यक्रममा नेशनल मेडिकल कलेजका प्रमुख सूचना अधिकृत ई. प्रदीपकुमार चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास, वरिष्ठ प्रशासन अधिकृत विश्वनाथ कण्ठ, प्रशासन अधिकृत पप्पु सिंह तथा दुवै संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।