सनातन हिन्दू मोर्चाद्वारा सरकारलाई २१ बुँदे सन्देश, राष्ट्रिय एकता र सांस्कृतिक संरक्षणमा जोड

77

वीरगञ्ज, २२ श्रावण। सनातन हिन्दू मोर्चाले नेपाल सरकार तथा सम्पूर्ण नागरिकलाई लक्षित गर्दै २१ बुँदे सन्देश सार्वजनिक गरेको छ। सन्देश मार्फत राष्ट्रिय एकता, सांस्कृतिक संरक्षण, सुशासन, सामाजिक उत्तरदायित्व तथा समसामयिक विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत गरिएको हो।

मोर्चाका केन्द्रीय संयोजक सन्तोषानन्द महाराजले नेपाल भगवान् पशुपतिनाथको पावन भूमि भएकाले देशको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानको संरक्षण सबै नेपालीको साझा दायित्व भएको बताउनुभयो।

उहाँका अनुसार २१ बुँदे सन्देशमा राष्ट्रिय पहिचान, सामाजिक सद्भाव, सांस्कृतिक संरक्षण तथा राष्ट्रिय एकताका विषयमा व्यापक जनचेतना र राष्ट्रिय बहस आवश्यक रहेको उल्लेख गरिएको छ। साथै नेपालमा बसोबास गर्ने सबै जाति, धर्म, भाषा र संस्कृतिको सम्मान गर्दै कानुनको शासन प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने तथा अपराधमा संलग्न जोसुकैलाई पनि कानुनबमोजिम कडा कारबाही गर्नुपर्नेमा जोड दिइएको छ।

मोर्चाले नेपाली भाषा, संस्कृति, मौलिक पहिचान र नेपालीपनको प्रवर्द्धन, गुरुकुल शिक्षाको विस्तार, गौसेवा केन्द्र स्थापना तथा “सानो परिवार, सुखी परिवार” अवधारणाको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ। विद्यालय, कलेज तथा सार्वजनिक संस्थामा राष्ट्रिय एकता, देशभक्ति र नैतिक शिक्षालाई प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा पनि सन्देशमा उल्लेख गरिएको छ।

त्यसैगरी धर्म परिवर्तनसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन, सार्वजनिक सेवामा पारदर्शी तथा योग्यतामा आधारित नियुक्ति प्रणाली, धार्मिक स्थल वरपर स्वच्छ, मर्यादित र शान्त वातावरण कायम गर्न आवश्यक व्यवस्था तथा भाषा, पोशाक, टीका, अनुहार वा बसोबासका आधारमा हुने सबै प्रकारका भेदभाव अन्त्य गर्नुपर्ने विषय पनि समावेश गरिएको छ।

मोर्चाले गौहत्या, बलात्कार, हत्या तथा राष्ट्रविरुद्धका गम्भीर अपराधमा कडा कानुनी सजायको व्यवस्था गर्न, विद्यार्थीलाई आत्मरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी जीवनोपयोगी तालिम प्रदान गर्न तथा तराई–मधेस क्षेत्रमा हिन्दू धर्मको संरक्षणका क्रममा भएका हत्या घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने माग पनि अघि सारेको छ।

यस्तै, पीडित तथा शहीद परिवारसँग भएका वैधानिक सम्झौताहरू इमानदारीपूर्वक कार्यान्वयन गर्न, गम्भीर घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न तथा नेपालको शासन व्यवस्था र राष्ट्रिय पहिचान सम्बन्धी विषयमा संविधान र लोकतान्त्रिक प्रक्रियाअनुसार राष्ट्रिय छलफल हुनुपर्ने धारणा मोर्चाले सार्वजनिक गरेको छ।

केन्द्रीय संयोजक सन्तोषानन्द महाराजले सरकारले प्रस्तुत २१ बुँदे सन्देशलाई गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक पहल गर्नुपर्ने बताउँदै सम्पूर्ण नेपाली नागरिकलाई राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा नेपालको धार्मिक–सांस्कृतिक सम्पदाको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ।

Leave A Reply

Your email address will not be published.