ट्याङ्करको सिल तोडेर तेल चोरी, पम्प सञ्चालक सहित ७ जना प्रहरी नियन्त्रणमा

77

 

नोट : यो तस्वीर AI प्रविधिबाट तयार गरिएको हो।

 

वीरगञ्ज । नेपाल आयल निगमको ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी गरी अवैध रूपमा बिक्री वितरण गर्ने गिरोहलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले पेट्रोल पम्प सञ्चालक तथा कर्मचारी सहित ७ जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार भारतको बरौनी टर्मिनलबाट नेपाल आयल निगमको हवाई इन्धन डिपो, सिनामंगल काठमाडौंका लागि आउने २० हजार लिटर क्षमताको ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी भइरहेको विशेष सूचना प्राप्त भएको थियो।

सोही सूचनाका आधारमा साउन २१ गते राति करिब ७ः३० बजे जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडकखण्ड स्थित सौदागर आयल सेन्टरमा ना.७ ख १५३९ नम्बरको ट्याङ्करबाट तेल चोरी भइरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ट्याङ्करमा लगाइएको सिल समेत फलामको पाइपको हुक प्रयोग गरी खोली ट्याङ्करबाट तेल निकालेर अवैध रूपमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–३ मालपोत चोकका ५५ वर्षीय सुनेन मियाँ पेट्रोल पम्प सञ्चालक, वीरगञ्ज–१५ लक्ष्मणवाका २३ वर्षीय असलम हवारी र वीरगञ्ज–११ श्रीपुरका २१ वर्षीय रफिक मियाँ रहेका छन्। उनीहरू पेट्रोल पम्पसँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ।

यस्तै, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ का २० वर्षीय सन्देश राना मगर, हेटौंडा–१० का ४६ वर्षीय केशर राम सुनार, हेटौंडा–१४ का ५० वर्षीय मन्द सिंह लामा र सोही वडाका २७ वर्षीय उमेश राना मगरलाई समेत पक्राउ गरिएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई चोरीमा प्रयोग गरिएको ट्याङ्कर सहित नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.