वातावरण संरक्षणमा सशस्त्र प्रहरीको पहल : वीरगञ्जमा २०० बिरुवा रोपियो

67

वीरगञ्ज, साउन २२। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साको आयोजना तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा वीरगञ्ज महानगरपालिका–१, छपकैया स्थित बबिता पराजुली आधारभूत विद्यालय तथा छठघाट परिसरमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका २०० वटा बिरुवा रोपिएका छन्।

कार्यक्रममा सशस्त्र प्रहरी बलका अधिकृत तथा जवान, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरूले वृक्षारोपणलाई केवल एकदिने अभियानमा सीमित नराखी रोपिएका बिरुवाको नियमित संरक्षण र हेरचाह गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले आगामी पुस्तालाई स्वच्छ, हराभरा र स्वस्थ वातावरण हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरे।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले रोपिएका बिरुवाको संरक्षण तथा नियमित हेरचाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साले वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै यस्ता जनहितका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

Leave A Reply

Your email address will not be published.