‘प्रतिवैरम्’को ‘माहोल गरम’ रिलिजअघि नै चर्चामा, क्रेडिट विवाद समझदारीमा टुंगियो

41

वीरगञ्ज । आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको बहुभाषिक फिल्म ‘प्रतिवैरम्’ आफ्नो आइटम गीत ‘माहोल गरम’ सार्वजनिक हुनुअघि नै चर्चामा आएको छ।

गीतको हिन्दी संस्करणमा देखिएको क्रेडिटसम्बन्धी विवाद निर्माण टिमले आपसी समझदारीमा समाधान गरेको जनाएको छ। गायिका शिवानी भगतले सामाजिक सञ्जालमार्फत हिन्दी संस्करणको गीतमा लिरिक्स क्रेडिटलाई लिएर असन्तुष्टि जनाएपछि विवाद बाहिर आएको थियो।

भगतले गीतको हिन्दी शब्द रचना लव कर्णले गरेको भए पनि लिरिक्स क्रेडिटमा रोशन दासको नाम राखिएको भन्दै प्रश्न उठाएकी थिइन्। त्यसपछि लव कर्णले पनि फरक भाषामा गीतलाई लिप–सिंक मिलाउँदै रूपान्तरण गर्न आफूले गरेको मेहनतको उचित श्रेय पाउनुपर्ने बताएका थिए।

निर्माण टिमले भने क्रेडिटमा देखिएको त्रुटि प्राविधिक कमजोरीका कारण भएको स्पष्ट पार्दै त्यसलाई सच्याइने जनाएको छ। टिमका अनुसार क्रेडिटसम्बन्धी विषय आपसी समझदारीमै पूर्ण रूपमा समाधान भइसकेको छ र यसले गीतको रिलिजमा कुनै असर पर्ने छैन।

नेपाली, हिन्दी, मैथिली र भोजपुरी गरी चार भाषामा सार्वजनिक हुन लागेको फिल्मको ‘माहोल गरम’ गीतले प्रचारप्रसारलाई थप गति दिने अपेक्षा गरिएको छ। गीतको हिन्दी संस्करणमा गायिका शिवानी भगतले नै स्वर दिएकी छन्।

युवा फिल्मकर्मी रोशन दासको लेखन तथा निर्देशनमा तयार भएको ‘प्रतिवैरम्’ चारवटै भाषामा दर्शकमाझ आउनेछ। फिल्ममा हर्ष कुमार यादव र सत्यराज चौलागाईं निर्माता, अनिश पोखरेल सह–निर्माता, बिक्की शाह कार्यकारी निर्माता तथा राकेश शाह क्रिएटिभ प्रोड्युसरका रूपमा रहेका छन्।

रेज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सिम्पल एड मिडिया, श्रीयान इन्टरटेनमेन्ट र आदर्श प्रोडक्सनको सहकार्य रहेको छ। फिल्ममा नवनायक सम्राट दास र सुप्रज्ञा शर्मासहित वीरेन्द्र सिंह कुशवाहा, अलिशा बास्तोला, रमेश बुढाथोकी, प्रदीप ढकाल, रोनी यादव, नवीन श्रेष्ठ र नारायण बी.क. लगायतका कलाकारको अभिनय रहेको छ।

Leave A Reply

Your email address will not be published.