विद्यार्थीको सिर्जनशीलता झल्कियो, सगरमाथा एकेडेमीमा राखी मेकिङ प्रतियोगिता सम्पन्न

77

वीरगञ्ज, ११ भदौ । सगरमाथा एकेडेमी वीरगञ्ज प्रा.लि. मुरली–१२, पर्साको खेल मैदानमा रक्षाबन्धनको अवसरमा आयोजित ‘राखी मेकिङ प्रतियोगिता–२०८३’ उत्साहपूर्वक सम्पन्न भएको छ।

विद्यालयका प्रधानाध्यापक एवम् नेशनल प्याब्सन वीरगञ्ज नगर अध्यक्ष जियालाल गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका संयोजक संजीव यादवले सहजीकरण गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा माइस्थान विद्यापीठ माध्यमिक विद्यालय, वीरगञ्जका प्रधानाध्यापक मुनिलाल कर्णको उपस्थिति रहेको थियो।

प्रतियोगिताको निर्णायक मण्डलमा गुगल एकेडेमीका संस्थापक/प्रधानाध्यापक नरेश कुर्मी, ए प्लस एकेडेमीका संस्थापक/प्रधानाध्यापक देव जयसवाल र नवदीप माध्यमिक विद्यालयकी संस्थापक/प्रधानाध्यापक सुशीला साह रहेका थिए।

प्रतियोगितामा विद्यार्थीहरूले आफ्नो कला, कल्पनाशक्ति र सिर्जनात्मक क्षमता प्रयोग गर्दै विभिन्न आकर्षक राखी निर्माण गरेका थिए। विद्यार्थीहरूलाई मौलिक संस्कृति तथा चाडपर्वको महत्त्वबारे व्यावहारिक ज्ञान प्रदान गर्नुका साथै उनीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रमको समापन गर्दै प्रधानाध्यापक गुप्ताले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, निर्णायक, शिक्षक–कर्मचारी तथा विद्यार्थीहरूलाई धन्यवाद दिए। सो अवसरमा अतिथि तथा निर्णायकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो भने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।

Leave A Reply

Your email address will not be published.