नेपाल जेसीजद्वारा रसुवा बाढीपहिरो प्रभावितका लागि १० लाख सहयोग

69

वीरगञ्ज । रसुवा जिल्लामा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाल जेसीजले १० लाख रुपैयाँ सहयोग गरेको छ।

नेपाल जेसीजले देशभरका जेसीज सदस्यबाट राहत रकम संकलन गर्न सञ्चालन गरेको ‘एक सदस्य, एक सय’ अभियान–२०२६ अन्तर्गत उक्त रकम संकलन गरिएको हो। संकलित रकममध्ये तत्काल राहतका लागि १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको नेपाल जेसीजले जनाएको छ।

जेसीआईको मूल मन्त्र ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ लाई आत्मसात् गर्दै विपद्को कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

देशभरका जेसीज सदस्यको सक्रिय सहभागिता, सहयोग र ऐक्यबद्धताबाट संकलित रकमले बाढीपहिरो प्रभावित परिवारको राहत तथा उद्धारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास नेपाल जेसीजले व्यक्त गरेको छ।

मानवीय सेवाप्रतिको आफ्नो प्रतिबद्धता व्यक्त गर्दै नेपाल जेसीजले आगामी दिनमा समेत विपद् तथा संकटमा परेका नागरिकको सहयोगका लागि आवश्यक पहल र सहकार्यलाई निरन्तरता दिने जनाएको छ।

Leave A Reply

Your email address will not be published.