मध्य नेपाल सन्देशको ११औँ वार्षिकोत्सवमा ‘महिला पहिला’ बहस, पत्रकार बन्दना झा सम्मानित

45

वीरगञ्ज । वीरगञ्जबाट प्रकाशित मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले आफ्नो ११औँ वार्षिकोत्सवको अवसरमा ‘२०८४ को निर्वाचनमा महिला पहिला’ विषयक प्यानल छलफल कार्यक्रम सम्पन्न गरेको छ।

वीरगञ्ज स्थित क्लासिक ब्याङ्क्वेटमा आयोजित कार्यक्रमको उद्घाटन पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले गरेका थिए। कार्यक्रममा बोल्दै पन्तले सञ्चारमाध्यम लोकतन्त्रको महत्वपूर्ण आधार भएको बताउँदै नागरिकका समस्या, गुनासा र आवाज सम्बन्धित निकायसम्म पुर्‍याउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए।

उनले पत्रकारिता सत्य, तथ्य र निष्पक्षतामा आधारित हुनुपर्नेमा जोड दिँदै प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने सरकारको कुनै नीति नरहेको दाबी गरे। निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्नुको उद्देश्य पत्रकारितामा देखिएका विकृति नियन्त्रण गर्नु रहेको उनको भनाइ थियो। साथै, बाढी प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग गर्न उनले सबैलाई आग्रह गरे।

नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केशी लामिछानेले वर्तमान सरकारको मन्त्रिमण्डलमा युवाको सहभागिता सकारात्मक भए पनि सरकारको नियतमाथि प्रश्न उठाए। उनले सरकार गठन भएलगत्तै मिडिया तथा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप सुरु भएको आरोप लगाए। कार्यक्रममा प्याब्सन पर्साका वरिष्ट उपाध्यक्ष सुशीला साह सहित विभिन्न संघ संस्थाका पदगिकरिकोहरुको उपस्थिति रहेको थियो।

पत्रिकाकी सम्पादक कविता खड्काले सहजीकरण गरेको प्यानल छलफलमा पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो, जनमत पार्टीकी नेतृ रम्भा मिश्रा, सामाजिक अभियन्ता बबिता जयसवाल र प्राध्यापक उमा मिश्रा सहभागी थिए। छलफलमा आगामी निर्वाचनमा महिलाको राजनीतिक सहभागिता, प्रतिनिधित्व र नेतृत्वका विषयमा विचार–विमर्श गरिएको थियो।

यसै अवसरमा पत्रिकाले प्रदान गर्दै आएको ‘मधेश प्रदेशका उत्कृष्ट महिला पत्रकार सम्मान’ यस वर्ष सर्लाहीकी पत्रकार बन्दना झालाई प्रदान गरिएको छ। सांसद पन्तले झालाई सम्मानपत्र तथा ११ हजार रुपैयाँ नगद सहित सम्मान गरेका थिए।

झा मधेश प्रदेश सरकारअन्तर्गतको मिडिया काउन्सिलकी कार्यवाहक अध्यक्ष तथा नेपाल पत्रकार महासंघ सर्लाहीकी उपाध्यक्ष समेत हुन्।

Leave A Reply

Your email address will not be published.