चितवनमा भोटेकोशी बाढीपछि फेला परेका १९९ बेवारिसे शवको व्यवस्थापन
चितवन, १५ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा फेला परेका पहिचान नखुलेका १९९ शवको व्यवस्थापन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गल क्षेत्रमा आइतबार रातिसम्म ती शवको व्यवस्थापन गरिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार चितवनका नदी तथा आसपासका क्षेत्रमा हालसम्म २७२ शव फेला परेका छन्। तीमध्ये १९९ शवको व्यवस्थापन भइसकेको छ भने १२ शवको मात्र सनाखत भएको छ। सनाखत भएका शव आवश्यक कानुनी तथा चिकित्सकीय प्रक्रिया पूरा गरी सम्बन्धित परिवारले बुझेर लगेका छन्।
पहिचान खुल्न नसकेका शवलाई भविष्यमा डीएनए परीक्षणमार्फत बेपत्ता व्यक्तिका परिवारसँग मिलान गर्न सकिने गरी व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शव व्यवस्थापन गरिएको स्थान पहिचान गर्न प्रत्येक शवमा आवश्यक संकेत चिह्नसमेत राखिएको छ। भविष्यमा डीएनए परीक्षणबाट पहिचान खुलेमा सम्बन्धित परिवारलाई शव हस्तान्तरण गर्न सकिने व्यवस्था गरिएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार हालसम्म फेला परेका २७२ शवमध्ये ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका र ८७ मानव अवशेष रहेका छन्।
नदी किनार तथा आसपासका क्षेत्रमा अझै शव फेला पर्ने क्रम जारी रहेकाले खोजी तथा व्यवस्थापन कार्यलाई निरन्तरता दिइएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संयुक्त रूपमा खोजी तथा शव व्यवस्थापनमा परिचालन गरिएको छ।
बाढीका कारण बेपत्ता भएका व्यक्तिको खोजी कार्यलाई निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ।