रसुवाका बाढीपीडितका लागि फेटा गाउँपालिकाले १९ लाख रुपैयाँ सहयोग गर्ने
वीरगञ्ज । बाराको फेटा गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १९ लाख २ हजार ६३३ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
फेटा गाउँ कार्यपालिकाको बुधबार बसेको बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले जानकारी दिए।
गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै गाउँपालिकाले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
कार्यपालिकाले विपद्बाट प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, नागरिक समाज, निजी क्षेत्र, विभिन्न संघसंस्था तथा आमनागरिकले आ–आफ्नो तर्फबाट सहयोग गर्नु मानवीय दायित्व भएको जनाएको छ।
गाउँपालिकाका अनुसार विपद् व्यवस्थापन खर्च शीर्षकबाट ५ लाख ५ हजार रुपैयाँ सहयोग गरिनेछ। यस्तै, निर्वाचित जनप्रतिनिधिको सेवा–सुविधा शीर्षकबाट १ लाख ६ हजार २८३ रुपैयाँ संकलन गरिने छ। उक्त रकम कार्यपालिका सदस्यहरूको सात दिनको सेवा–सुविधाबाट कट्टा गरिने जनाइएको छ।
त्यसैगरी गाउँपालिकामा कार्यरत स्थायी तथा करार कर्मचारीको तलब–भत्ता शीर्षकबाट ५ लाख ८५० रुपैयाँ सहयोग गरिनेछ। यसअन्तर्गत अधिकृतस्तरका कर्मचारीको सात दिन, सहायकस्तरका कर्मचारीको पाँच दिन तथा श्रेणीविहीन कर्मचारीको दुई दिनको तलब बराबरको रकम संकलन गरिने भएको छ।
विद्यालयका शिक्षक तथा कर्मचारीको तलब–भत्ता शीर्षकबाट ७ लाख ९० हजार ५०० रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको छ। माध्यमिक तहका शिक्षकबाट सात दिन, निम्न माध्यमिक तथा प्राथमिक तहका शिक्षकबाट पाँच दिन तथा बालविकास शिक्षक, विद्यालय कर्मचारी र सहयोगी कर्मचारीबाट दुई दिनको तलब बराबरको रकम सहयोगस्वरूप संकलन गरिने गाउँपालिकाले जनाएको छ।
यी सबै शीर्षकबाट संकलित १९ लाख २ हजार ६३३ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले जानकारी दिए।