पर्यटकको सुरक्षा र सहजीकरणका लागि जिल्ला प्रहरी कार्यालय पर्साद्वारा अनलाइन पर्यटन साइट सञ्चालन

8

वीरगञ्ज, भदौ ३१ आनन्द पटेल।

पर्सा जिल्लामा पर्यटन प्रवर्द्धन तथा पर्यटकको सुरक्षा र सहजीकरणका लागि जिल्ला प्रहरी कार्यालय पर्साले जिल्लाका ऐतिहासिक, धार्मिक, पुरातात्त्विक तथा पर्यटकीय स्थल सम्बन्धी विवरण समेटिएको अनलाइन साइट सञ्चालनमा ल्याएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्यटक तथा सर्वसाधारणलाई पर्साका विभिन्न पर्यटकीय स्थलको पहिचान, वीरगञ्जबाट सम्बन्धित स्थानसम्म पुग्न लाग्ने अनुमानित समय, सडक तथा यातायातको अवस्था, खाना–नास्ता तथा बसोबासका लागि उपलब्ध होटल, रेस्टुरेन्ट तथा रिसोर्टको सुविधा लगायतका जानकारी अनलाइन मार्फत उपलब्ध गराइएको छ।

यस्तै, सम्बन्धित पर्यटकीय स्थलको नजिक रहेको प्रहरी कार्यालय, सम्पर्क नम्बर, नजिकको अस्पताल तथा त्यहाँ पुग्ने बाटो सम्बन्धी जानकारी समेत समावेश गरिएको छ। पर्यटकलाई सहज रूपमा गन्तव्यसम्म पुग्न Google Maps को सुविधा पनि साइटमा राखिएको प्रहरीले जनाएको छ।

पर्यटक तथा सर्वसाधारणले QR Code Scan गरेर वा पर्सा पर्यटन सम्बन्धी अनलाइन साइटमा गएर आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी चक्रबहादुर मल्लले पर्सामा आउने पर्यटकलाई आवश्यक सूचना सहज रूपमा उपलब्ध गराउने तथा पर्यटकीय स्थलको प्रवर्द्धन र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले अनलाइन प्रणाली विकास गरिएको जानकारी दिए।

Leave A Reply

Your email address will not be published.