तेरापन्थ युवक परिषद्को सामाजिक अभियान, एकैदिन १०० जनाले गरे रक्तदान

34

वीरगन्ज, असोज ३ आनन्द पटेल।

तेरापन्थ युवक परिषद्को आयोजनामा वीरगन्जमा शनिबार आयोजित बृहत् रक्तदान कार्यक्रममा १०० जनाले रक्तदान गरेका छन्।

रक्तदान कार्यक्रम वीरगन्जको आदर्शनगर स्थित जैन तेरापन्थ भवनको सभाहल र कावेरी एकेडेमीको सभाहल गरी दुई छुट्टाछुट्टै स्थानमा सञ्चालन गरिएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।

रक्तदान गर्नेहरूमा आकाश कुमार मिश्रा, अमित कुमार श्रीवास्तव, अविजित ठाकुर, रणजित पोखरेल, रामबाबु दास, कृष्णा कुमार गुप्ता, विजय श्रीवास्तवलगायत रहेका छन्। रक्तदानमार्फत आकस्मिक अवस्थामा आवश्यक पर्ने रगतको अभाव कम गर्न सहयोग पुग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।

कार्यक्रमको संयुक्त अध्यक्षता जैन श्वेताम्बर समाजका सुनिल मनोत र तेरापन्थ युवक परिषद्का अध्यक्ष सुनिल दुगडले गरेका थिए।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीले रक्तदान गर्ने सबै रक्तदातालाई धन्यवाद दिँदै स्वस्थ व्यक्तिहरूलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गरे। उनले रक्तदान मानव जीवन बचाउने महत्वपूर्ण सामाजिक सेवामध्ये एक रहेको उल्लेख गर्दै यस्ता सामाजिक कार्यलाई निरन्तरता दिन आयोजक संस्थालाई धन्यवाद दिए।

कार्यक्रममा बालाजी मेटल्स प्राइभेट लिमिटेडको प्रायोजन तथा डाबर नेपालको कभरेज पार्टनरका रूपमा सहयोग रहेको थियो। त्यस्तै, आशिष चौरडिया, पंकज वैद्य, राजकुमार वैद्यलगायतले कार्यक्रम सफल बनाउन सहयोगी भूमिका निर्वाह गरेका थिए।

तेरापन्थ युवक परिषद्ले सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि रक्तदानलगायत विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

रक्तदान कार्यक्रममा सहभागीहरूले नियमित रक्तदान गर्ने संस्कारको विकास गर्न सके आपत्कालीन अवस्थामा बिरामी तथा घाइतेलाई आवश्यक रगत उपलब्ध गराउन सहज हुने बताएका थिए।

Leave A Reply

Your email address will not be published.