बौधिमाईको संरक्षणदेखि सौन्दर्यीकरणसम्म : १५ सदस्यीय व्यवस्थापन संस्था गठन

79

वीरगञ्ज, ८ असोज ।

वीरगञ्ज महानगरपालिका–१४ सानो पिपरामा रहेको ऐतिहासिक बौधिमाई मन्दिरको संरक्षण, व्यवस्थित व्यवस्थापन तथा धार्मिक–पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले श्री बौधिमाई व्यवस्थापन संस्था गठन गरिएको छ।

नवनिर्मित संस्थाको बिहीबार एक कार्यक्रमबीच नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष तथा संविधानसभा सदस्य बिचारी प्रसाद यादवले वृक्षारोपण गरी उद्घाटन गरेका हुन्। संस्थाका अध्यक्ष घुरन टेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सहभागीहरूले बौधिमाई क्षेत्रको संरक्षण, व्यवस्थापन र विकासका लागि स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताएका थिए। कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका युवा नेता अनिल पटेल, आम जनता पार्टी पर्साका अध्यक्ष विश्वराज पटेल, सञ्चारकर्मी राकेश साह, पूर्व वडा अध्यक्ष भरत कुर्मी लगायतले बौधिमाई क्षेत्रलाई व्यवस्थित गर्दै धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

संस्थाका सचिव मुकेश पटेलले बौधिमाई मन्दिरको संरक्षणसँगै व्यवस्थित व्यवस्थापन गरी यसको धार्मिक तथा पर्यटकीय महत्वलाई थप उजागर गर्ने उद्देश्यले संस्था गठन गरिएको बताए। उनका अनुसार आगामी दिनमा मन्दिर तथा आसपासका क्षेत्रमा सरसफाइ, संरक्षण, सौन्दर्यीकरण लगायत विभिन्न रचनात्मक गतिविधि सञ्चालन गरिने छ।

कार्यक्रमका प्रमुख अतिथि यादवले बौधिमाई मन्दिरको विकासका लागि मधेश प्रदेश सरकारसँग आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए। आफू २०७० सालमा सांसद हुँदा उक्त क्षेत्रमा स्नानघर निर्माण गरेर विकासको सुरुवात गरेको स्मरण गर्दै उनले वीरगञ्जको धरोहरका रूपमा रहेको बौधिमाई क्षेत्रलाई धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्न स्थानीयवासीसहित सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

घुरन पटेलको अध्यक्षतामा ११ सदस्यीय व्यवस्थापन संस्था गठन गरिएको छ। संस्थाको उपाध्यक्षमा संदेश पटेल, सचिवमा मुकेश पटेल, सहसचिवमा बद्रीनारायण पटेल र कोषाध्यक्षमा मुनेश कुमार पटेल चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा प्रताप कुमार पटेल, गगनदेव पटेल, धर्मेन्द्र पटेल, पिंकी कुमारी र कृष्णा पटेल रहेका छन्। कार्यक्रममा नवगठित समितिका पदाधिकारी तथा सदस्यहरूलाई गम्छा ओढाएर सम्मान गर्नुका साथै प्रमाणपत्र समेत वितरण गरिएको थियो।

कार्यक्रममा सशस्त्र प्रहरी १३ नम्बर गणका प्रहरी नायब उपरीक्षक बालकृष्ण महर्जन, वडा सदस्य कान्ति देवी चमार, सदस्य प्रमिला देवी महरा, पत्रकार अभिलाश गुप्ता, सन्तोष कुशवाहा लगायत स्थानीयवासीको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण पत्रकार आनन्द पटेलले गरेका थिए।

Leave A Reply

Your email address will not be published.