बहुअरी–मिलनचोक सडक जीर्ण, मर्मतको माग गर्दै स्थानीय सडकमा

29

वीरगञ्ज असोज १७ —

पर्साको ड्राइपोर्टदेखि बहुअरी चोक हुँदै परवानीपुर–मिलनचोकतर्फ जाने सडक जीर्ण बन्दै गएपछि स्थानीयले विरोध जनाएका छन्। सडकको अवस्था सुधारका लागि सम्बन्धित निकायले चासो नदिएको भन्दै स्थानीयले शनिबार करिब ३० मिनेट सडक जाम गरेर ध्यानाकर्षण गराएका हुन्।

वीरगञ्ज महानगरपालिका–२४ स्थित बहुअरी मठ अगाडिको सडकमा पिच उप्किएर खाल्डाखुल्डी हुनुका साथै सडकको सतह असमान बनेको छ। यसका कारण दैनिक आवतजावत गर्ने सवारीसाधन तथा यात्रु जोखिममा परेको स्थानीयको गुनासो छ।

स्थानीयका अनुसार तीव्र गतिमा आउने सवारीसाधन सडकको बिग्रिएको भागमा पुग्दा अनियन्त्रित हुने र दुर्घटनाको जोखिम बढ्ने गरेको छ। रातको समयमा सडकको बिग्रिएको भाग स्पष्ट देखिन नसक्दा जोखिम झनै बढ्ने उनीहरूको भनाइ छ।

सडक निर्माण भएको केही वर्षमै विभिन्न स्थानमा पिच उप्किएर जीर्ण बने पनि समयमै मर्मत तथा अनुगमन नभएको स्थानीयले आरोप लगाएका छन्। उनीहरूले दुर्घटना भएपछि मात्रै मर्मत गर्ने प्रवृत्तिको अन्त्य गर्दै दुर्घटना हुनुअघि नै जोखिमयुक्त सडकको मर्मत गर्न माग गरेका छन्।

स्थानीयले सडकको प्राविधिक निरीक्षण गरी बहुअरी मठ अगाडिसहित जीर्ण स्थानमा तत्काल मर्मत तथा पिच पुनर्निर्माण गर्न सम्बन्धित सडक कार्यालय, स्थानीय तह तथा सरोकारवाला निकायसँग आग्रह गरेका छन्।

शनिबार पहिलो चरणमा करिब ३० मिनेट सडक जाम गरेर ध्यानाकर्षण गराइएको स्थानीयले बताएका छन्। माग सम्बोधनका लागि सम्बन्धित निकायबाट पहल नभए चरणबद्ध रूपमा थप विरोधका कार्यक्रम अघि बढाउने उनीहरूले चेतावनी दिएका छन्।

Leave A Reply

Your email address will not be published.