पचरौता मेयरमा चुनाव लड्ने उमेश यादवको चर्चा, शिक्षा, स्वास्थ्य, कृषि र सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता

8

वीरगञ्ज आनन्द पटेल।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता उमेशप्रसाद यादवले आगामी स्थानीय तह निर्वाचनमा बाराको पचरौता नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

बुधबार वीरगञ्जमा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम तथा नागरिकलाई सहज रूपमा सेवा–सुविधा उपलब्ध गराउने उद्देश्यले आफू राजनीतिमा आएको बताए। उनले यसअघि निर्वाचित मेयरमाथि असक्षमता र भ्रष्टाचारको आरोप लगाउँदै त्यसको विकल्पका रूपमा आफू राजनीतिमा आउनुपरेको दाबी गरे।

कानूनका विद्यार्थीसमेत रहेका यादव रास्वपाका युवा नेताका रूपमा बारामा सक्रिय छन्। उनी राजनीतिक गतिविधिसँगै सामाजिक कार्यमा पनि संलग्न रहँदै आएका छन्।

मेयरमा निर्वाचित भए शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, यातायात, सञ्चार तथा खेलकुदलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर योजना कार्यान्वयन गर्ने यादवले बताए।

कृषिमा प्राथमिकता-

यादवले नगरपालिकाका प्रत्येक वडामा ९ वटाका दरले ट्याक्टर खरिद गरी नगरपालिकाको मापदण्डअनुसार गरिब, विपन्नदेखि सबै किसानको खेत जोत्ने व्यवस्था मिलाउने योजना अघि सारेका छन्।

किसानलाई आवश्यक समयमा नगरपालिकाको मातहतमा रहेका डिलरमार्फत मलखाद उपलब्ध गराउने, आवश्यकताअनुसार स्टेट बोरिङ जडान गरी सिँचाइ सुविधा विस्तार गर्ने तथा किसानका खेत वरिपरि तारपोल जडान गर्ने योजना पनि उनले सुनाए।

शिक्षा र स्वास्थ्यमा विशेष योजना-

स्वास्थ्य तर्फ नेपाल सरकारबाट एनएमसी पास गरेका विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि नगरपालिकाबाट २० लाख रुपैयाँसम्म आर्थिक सहयोग गर्ने योजना यादवले अघि सारेका छन्।

एचए तथा अनमी उत्तीर्ण विद्यार्थीलाई नगरपालिकाको तर्फबाट प्रशिक्षक मार्फत थप प्रशिक्षण प्रदान गरी रोजगारीको व्यवस्थापन गर्ने उनको योजना छ।

प्राविधिक शिक्षातर्फ अध्ययनरत विद्यार्थीलाई निःशुल्क पोशाक वितरण, छात्रवृत्ति समयमै उपलब्ध गराउने तथा प्रत्येक माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब सञ्चालन गरी विषयगत शिक्षकको व्यवस्था गर्ने उनले बताए।

नगरभित्र माध्यमिक तहमा सर्वाधिक अंक ल्याउने विद्यार्थीलाई उचित पुरस्कार प्रदान गर्ने योजना पनि यादवले सार्वजनिक गरेका छन्।

सडक निर्माण र सुरक्षा–

यादवले प्रत्येक वर्ष चार किलोमिटर सडक निर्माण गर्ने तथा सडकका दुवै किनारमा वृक्षरोपण गर्ने योजना अघि सारेका छन्। सार्वजनिक स्थानमा सीसीटीभी क्यामेरा जडान गरी नगरको सुरक्षा व्यवस्था प्रभावकारी बनाउने उनको भनाइ छ।

खेलकुदको योजना –

खेलकुद तर्फ नगरस्तरीय सुविधा सम्पन्न क्रिकेट खेलमैदान तीन वर्षभित्र निर्माण गर्ने यादवले बताएका छन्। क्रिकेट खेलाडीलाई प्रशिक्षकमार्फत प्रशिक्षण दिने तथा जिल्लामा हुने प्रतियोगिता र प्रशिक्षणमा सहभागी गराउन आवश्यक व्यवस्था गर्ने योजना पनि उनले अघि सारे।

भ्रष्टाचार नियन्त्रण र सुशासनमा जोड_

यादवले भ्रष्टाचार नियन्त्रणलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन्। उनले २०७४ सालदेखि २०८३ सालसम्म भएका भ्रष्टाचार सम्बन्धी फाइलहरू खोल्न पहल गर्ने र दोषी देखिए सम्बन्धित निकाय मार्फत कारबाहीको माग गर्ने बताए।

आफ्नो नेतृत्वमा पारदर्शिता, सुशासन र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर पचरौता नगरपालिकाको विकास गर्ने यादवले प्रतिबद्धता जनाएका छन्।

Leave A Reply

Your email address will not be published.