अभिनयका हस्ती नाना पाटेकरको निधन
काठमाडौं । बलिउडका चर्चित तथा वरिष्ठ अभिनेता नाना पाटेकरको निधन भएको छ। ७५ वर्षको उमेरमा बिहीबार बिहान गोवा स्थित आफ्नै निवासमा हृदयाघात भएपछि उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
गोवाको डोना पाउला स्थित निवासमा अस्वस्थ भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो। मणिपाल अस्पतालका चिकित्सक डा. शेखर सालकरका अनुसार अस्पताल पुर्याउँदा उनको अवस्था गम्भीर भइसकेको थियो। चिकित्सकको टोलीले करिब ४५ मिनेटसम्म सीपीआर सहित जीवन बचाउने प्रयास गरे पनि उनलाई बचाउन सकेन। बिहान करिब ५ः२० बजे उनको मृत्यु भएको जनाइएको छ।
चिकित्सकका अनुसार नाना पाटेकरले राति करिब २ः३० बजे आफूलाई असहज महसुस भइरहेको भन्दै एक साथीलाई सन्देश समेत पठाएका थिए। तर रातिको समय भएकाले उक्त सन्देश तत्काल हेर्न नसकिएको बताइएको छ। पछि उनी निवासमै अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो।
उनको निधनपछि मेडिको–लिगल केस (एमएलसी) दर्ता गरिएको छ भने मृत्युको यकिन कारण पुष्टि गर्न पोस्टमार्टम गरिने जनाइएको छ।
नाना पाटेकर भारतीय चलचित्रका बहुआयामिक कलाकारका रूपमा परिचित थिए। हिन्दी तथा मराठी चलचित्रमा पाँच दशक भन्दा लामो समय सक्रिय रहेका उनले गम्भीर देखि हास्य भूमिकासम्म आफ्नो अभिनयको छुट्टै छाप छाडेका थिए। ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘प्रहार’, ‘तिरंगा’, ‘खामोशी : द म्युजिकल’, ‘वेलकम’ तथा ‘नटसम्राट’ लगायतका चलचित्रमा उनका प्रभावशाली अभिनयलाई दर्शकले विशेष रुचाएका थिए।
‘परिन्दा’का लागि उनले उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका थिए। ‘क्रान्तिवीर’का लागि उत्कृष्ट अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार तथा ‘अग्निसाक्षी’का लागि उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार जित्दै उनले तीन राष्ट्रिय चलचित्र पुरस्कार आफ्नो नाममा पारेका थिए।
भारतीय चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सन् २०१३ मा भारतको प्रतिष्ठित पद्मश्रीबाट सम्मानित गरिएको थियो।
नाना पाटेकरको निधनसँगै भारतीय चलचित्र क्षेत्रमा शोक छाएको छ। उनका सहकर्मी, कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।
पर्दामा सशक्त अभिनय, दमदार संवाद प्रस्तुति र फरक शैलीका कारण दर्शकमाझ छुट्टै पहिचान बनाएका पाटेकरको निधनलाई भारतीय चलचित्र क्षेत्रले एक अनुभवी र प्रभावशाली कलाकारको विदाइका रूपमा लिएको छ