भोटेकोशी बाढीले अवरुद्ध सडकमा आवागमन सुरु, फलाखु खोलामा बेलिब्रिज तयार

33

नुवाकोट । भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवा जोड्ने बेत्रावतीस्थित दुईवटा पक्की पुल बगाएपछि अवरुद्ध गल्छी–त्रिशूली–बेत्रावती–रसुवागढी सडकखण्ड आइतबार देखि पुनः सञ्चालनमा आएको छ। बेत्रावती स्थित फलाखु खोलामा नेपाली सेनाले बेलिब्रिज निर्माण गरेपछि नेपाल–चीन जोड्ने प्रमुख सडकमार्गमा आवागमन सुचारु भएको हो।

गत भदौ १० गते ल्हेन्दे खोलाबाट रसुवागढी नाका हुँदै भोटेकोशी नदीमा आएको भीषण बाढी त्रिशूली नदीमा मिसिएपछि आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती र रसुवाको उत्तरगया गाउँपालिका–५ जोड्ने फलाखु खोलामाथिका दुईवटा पक्की पुल बगाएको थियो। पुल बगाएपछि सडक अवरुद्ध हुँदा यात्रु आवागमनसँगै खाद्यान्न लगायत अत्यावश्यक सामग्रीको ढुवानीमा समस्या भएको थियो।

वैकल्पिक मार्ग सञ्चालनमा ल्याइए पनि कच्ची सडक र आवागमनमा कठिनाइका कारण यात्रु तथा मालवाहक सवारीसाधनले समस्या भोग्दै आएका थिए। सडक पुनः सञ्चालन गर्ने उद्देश्यले नेपाल सरकारले पुल निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिएपछि सेनाका प्राविधिकहरूले बेलिब्रिज निर्माण गरेका हुन्।

नेपाली सेनाले असोज २० गतेदेखि निर्माण सुरु गरेको ७३ दशमलव २ मिटर लामो र ५ दशमलव ५ मिटर चौडा एक्रो बेलिब्रिज आइतबार सम्पन्न भएको हो। सडक विभाग र नेपाली सेनाको सहकार्यमा निर्माण गरिएको पुलको अधिकतम भारवहन क्षमता ४० टन रहेको छ।

निर्माण सम्पन्न भएपछि नेपाली सेनाका उपरथी अनुपजंग थापाले पुल गल्छी–त्रिशूली–बेत्रावती–स्याफ्रुबेंसी सडक आयोजना कार्यालयलाई हस्तान्तरण गरेका थिए। त्यसपछि आइतबार देखि नै पुल पूर्ण रूपमा आवागमनका लागि खुला गरिएको हो।

पुल उद्घाटन कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, रसुवाका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डे लगायत जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थिति थियो।

पुल सञ्चालनमा आएसँगै बाढीका कारण विच्छेद भएको सडक सञ्जाल पुनः जोडिएको छ। यसबाट यात्रु आवागमन सहज हुनुका साथै खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको ओसारपसारमा राहत पुग्ने अपेक्षा गरिएको छ।

विदुर नगरपालिकाका प्रमुख श्रेष्ठले पुल सञ्चालनमा आएसँगै खाद्यान्न तथा अन्य सामग्रीको ढुवानी सहज हुने बताए। बाढीले टुटाएको सम्बन्ध, रोकिएको यात्रा र प्रभावित जनजीवनलाई पुनः जोड्न पुलले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

स्थानीयवासी दिलकृष्ण श्रेष्ठका अनुसार पुल निर्माणमा नेपाली सेना, नेपाल सरकार, स्थानीय सरकार र सडक विभागले सहयोग गरेका थिए। बाढीले सडक तथा पुल ध्वस्त पारेपछि आवागमनमा समस्या भोगिरहेका नुवाकोट र रसुवाका नागरिकका लागि बेलिब्रिज सञ्चालनमा आउनु ठूलो राहत भएको उनले बताए।

Leave A Reply

Your email address will not be published.