भारत उडानमा पावर बैंक लैजान प्रतिबन्ध, यात्रुलाई नेपाल एयरलाइन्सको सूचना
काठमाडौं, असोज २८ ।
नेपालबाट भारत जाने तथा भारतबाट उडान भर्ने यात्रुहरूका लागि हवाई यात्रामा पावर बैंक लैजान प्रतिबन्ध लगाइएको छ। भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) को निर्देशन अनुसार नेपाल एयरलाइन्सले सार्वजनिक सूचना जारी गर्दै यात्रुहरूलाई नयाँ नियमबारे जानकारी गराएको हो।
नयाँ नियम अनुसार भारततर्फको उडानमा यात्रुहरूले ह्यान्डब्याग, चेकइन ब्यागेज वा कार्गो कुनै पनि माध्यमबाट पावर बैंक लैजान नपाउने सूचनामा उल्लेख छ। हवाई सुरक्षालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको जनाइएको छ।
यस नियमसँगै भारत जाने तयारीमा रहेका यात्रुहरूले आफ्नो झोला तथा अन्य ब्यागेजमा पावर बैंक नराख्न र उडान अघि सम्बन्धित नियमबारे जानकारी लिन आग्रह गरिएको छ।
नेपाल एयरलाइन्सले यात्रुहरूलाई हवाई यात्रा गर्नु अघि जारी सूचनामा उल्लेख गरिएका नियम पालना गर्न समेत अनुरोध गरेको छ।