विधि र प्रक्रियाबाहिर गएर रास्वपामा टिकट पाइँदैन : हरि पन्त

104

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट वितरण गरिने बताएका छन्। विधिभन्दा बाहिर गएर कसैले पनि टिकट नपाउने स्पष्ट पार्दै उनले योग्य र सक्षम व्यक्तिलाई विचलित नहुन आग्रह गरेका छन्।

शुक्रबार राति वीरगञ्जस्थित क्लासिक ब्याङ्क्वेटमा सांसद पन्तद्वारा आयोजित बडादसैँको शुभकामना आदानप्रदान तथा टीका ग्रहण कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

पार्टीको ‘हामी आउँदैछौँ’ कार्यक्रमको प्रसङ्ग जोड्दै पन्तले आगामी निर्वाचनमा रास्वपाले उम्मेदवार छनोटका लागि उम्मेदवार क्लब, पोलिटिकल प्रोक्सिमिटी, प्रारम्भिक निर्वाचन र समावेशिताको अवधारणा अघि सारेको बताए। उक्त प्रक्रियाअन्तर्गत उम्मेदवार क्लबबाट प्रशिक्षित, परीक्षित र योग्य ठहरिएका व्यक्तिले मात्रै पार्टीको आधिकारिक उम्मेदवार बन्ने अवसर पाउने उनको भनाइ थियो।

“कोही जिल्ला सभापतिको नजिक भएकै आधारमा, प्रदेश सभापतिको निकट भएकै कारण वा कुनै माननीयको नातेदार भएकै भरमा टिकट पाउने अवस्था हुँदैन,” पन्तले भने, “त्यसैले योग्य व्यक्तिहरूले टिकट पाउने विषयमा अनावश्यक चिन्ता लिनु पर्दैन।”

कार्यक्रममा जिल्ला संगठन विभागका प्रमुख कृष्ण पासवानले सहजीकरण गरेका थिए। कार्यक्रममा सभापति पन्तले उपस्थित मान्यजनबाट टीका ग्रहण गर्नुका साथै नेता तथा कार्यकर्तालाई टीका लगाएर दसैँको शुभकामना आदानप्रदान गरेका थिए।

कार्यक्रममा तुलसा पौडेल, सुदिश प्रजापति, परवेज अख्तरलगायत जिल्लाका नेता, क्षेत्रीय सभापति, पालिका सभापति, वडा सभापति तथा पार्टीका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.