फेटा घटनाको छानबिन गर्न एसएसपी ढकालको नेतृत्वमा टोली गठन, प्रसौनीका प्रहरी प्रमुख फेरिए

63

बारा, १५ कात्तिक ।

बाराको फेटा गाउँपालिका–३ मा अधुरो आधारभूत अस्पताल उद्घाटनको विषयलाई लिएर भएको विवाद, प्रदर्शन तथा झडपको स्थलगत छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले तीन सदस्यीय छानबिन टोली गठन गरेको छ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभु प्रसाद ढकालको नेतृत्वमा गठित टोलीमा प्रहरी उपरीक्षक (एसपी) भुनेश्वर प्रसाद साह र प्रहरी निरीक्षक जटा शंकर यादव सदस्य रहेका छन्। टोलीलाई घटनास्थलको स्थलगत अध्ययन गरी विवाद, प्रदर्शन र झडपका विषयमा छानबिन गरेर प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।

यसैबीच, घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक सुमन लामालाई जिम्मेवारीबाट हटाइएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय बारामा तानिएको एसपी नरेन्द्र कुँवरले जानकारी दिए। लामाको स्थानमा प्रहरी निरीक्षक राजाबाबु ठाकुरलाई प्रसौनीको कार्यालय प्रमुखका रूपमा खटाइएको छ।

फेटा गाउँपालिका–३ मा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल अधुरै रहेको अवस्थामा उद्घाटन गर्न खोजिएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा स्थिति तनावपूर्ण बनेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।

झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय धर्मेन्द्र पासवानका करिब १५ वर्षीय छोरा आदित्य पासवान गम्भीर घाइते भएका छन्। उनको तिघ्रामा गोली लागेको थियो। घाइते पासवानको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ।

घटनापछि आक्रोशित स्थानीयले अस्पतालमा ढुंगामुढा तथा तोडफोड गर्नुका साथै करिब नौ वटा मोटरसाइकलमा आगजनी गरेका थिए। झडपमा पाँच जना प्रहरीसमेत घाइते भएका थिए।

घटनाको वास्तविकता र झडपको कारण पत्ता लगाउन गठित प्रहरी टोलीले अब स्थलगत छानबिन गर्नेछ।

Leave A Reply

Your email address will not be published.