ज्ञानदा एकेडेमीको शैक्षिक उत्कृष्टताको उत्सव : विद्यार्थीलाई नगद पुरस्कार, अभिभावकलाई प्रशंसापत्र सहित सम्मान

55

वीरगञ्ज आनन्द पटेल।

पर्साको वीरगञ्ज स्थित ज्ञानदा एकेडेमीले कक्षा ११ र १२ अन्तर्गत विज्ञान, व्यवस्थापन तथा कानून संकायका टर्मिनल परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ। विद्यार्थीहरूको मेहनत, लगनशीलता र शैक्षिक उपलब्धिको कदर गर्दै एकेडेमीले बिहीबार विशेष कार्यक्रम आयोजना गरी उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कार तथा ट्रफी सहित सम्मान गरेको हो।

एकेडेमी परिसरमा आयोजित नतिजा सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा विभिन्न संकायमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार सहित ट्रफी प्रदान गरिएको थियो। विद्यार्थीहरूलाई अध्ययन प्रति थप प्रेरित गर्ने, प्रतिस्पर्धात्मक भावना विकास गर्ने तथा शैक्षिक क्षेत्रमा उत्कृष्टताको संस्कार स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एकेडेमीले जनाएको छ।

कार्यक्रमको अध्यक्षता ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत तथा प्रिन्सिपल राजेन्द्र प्रसाद कोइरालाले गर्नुभएको थियो। उहाँले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरूको शैक्षिक सफलतामा निरन्तर परिश्रम, अनुशासन, सकारात्मक सोच र लगनशीलताको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले विद्यार्थीको सफलताका लागि विद्यालयको शैक्षिक वातावरणसँगै अभिभावकको साथ, सहयोग र उचित मार्गदर्शन पनि उत्तिकै आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि जीएचपी स्कुलका प्रिन्सिपल जगप्रीत सिंह तथा विशिष्ट अतिथि नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारी रहनुभएको थियो। उहाँहरूको उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।

कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई मात्र नभई उनीहरूको सफलतामा महत्त्वपूर्ण योगदान पुर्‍याउने अभिभावकहरूलाई समेत विशेष सम्मान गरिएको थियो। आफ्ना सन्तानको शैक्षिक यात्रामा निरन्तर प्रोत्साहन, सहयोग, त्याग र मार्गदर्शन प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गर्न सहयोग पुर्‍याएको कदरस्वरूप अभिभावकहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो।

एकेडेमीले विद्यार्थीको सफलता कुनै एक पक्षको प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै विद्यार्थीको मेहनत, शिक्षकको समर्पण, अभिभावकको सहयोग र शैक्षिक संस्थाको जिम्मेवार भूमिकाको संयुक्त परिणाम भएको जनाएको छ।

कार्यक्रममा अभिभावक, शिक्षक, सञ्चारकर्मी तथा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा अझ उच्च लक्ष्य निर्धारण गरी अध्ययनलाई निरन्तरता दिन प्रेरित गरिएको थियो।

ज्ञानदा एकेडेमीले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने विश्वास व्यक्त गरेको छ। साथै, विद्यार्थी, अभिभावक र विद्यालयबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै गुणस्तरीय शिक्षा मार्फत बौद्धिक रूपमा सक्षम, नैतिक मूल्यमा आधारित तथा सामाजिक रूपमा उत्तरदायी नागरिक निर्माण गर्ने आफ्नो अभियानलाई निरन्तरता दिने जनाएको छ।

कार्यक्रमको अन्त्यमा एकेडेमीले उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थी, उनीहरूका अभिभावक तथा मेहनती शिक्षकहरूलाई बधाई दिँदै आगामी शैक्षिक यात्राको सफलताको शुभकामना व्यक्त गरेको थियो।

Leave A Reply

Your email address will not be published.