दीपावलीको अवसरमा माउन्ट मकालु स्कुलमा रंगोली प्रतियोगिता, विद्यार्थीले प्रस्तुत गरे आकर्षक कलात्मक सिर्जना
वीरगञ्ज । दीपावली पर्वको अवसरमा वीरगञ्ज महानगरपालिका–१०, अशोकवाटिका स्थित माउन्ट मकालु इङ्ग्लिस बोर्डिङ स्कुलले रंगोली प्रतियोगिता आयोजना गरेको छ।
विद्यालय परिसरमा बिहीबार आयोजित प्रतियोगितामा कक्षा ३ देखि ८ सम्मका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।
विद्यार्थीहरूमा रहेको सिर्जनात्मक क्षमता, कलात्मक प्रतिभा तथा सांस्कृतिक चेतनाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ।
प्रतियोगितामा विद्यार्थीहरूले विभिन्न रङ, फूल तथा सजावटी सामग्रीको प्रयोग गरी दीपावलीको महत्त्व झल्काउने आकर्षक रंगोली तयार पारेका थिए। दियो, दीप, फूल तथा विभिन्न कलात्मक आकृतिहरूलाई रंगोलीमा उतार्दै विद्यार्थीहरूले आफ्नो कल्पनाशक्ति र सिर्जनशीलता प्रदर्शन गरेका थिए।
रंगहरूको संयोजन, मौलिक डिजाइन र कलात्मक प्रस्तुतिले विद्यालय परिसरलाई उत्सवमय बनाएको थियो। प्रतियोगिताले विद्यार्थीहरूमा आपसी सहकार्य, समूहकार्य र आत्मविश्वास अभिवृद्धि गर्नुका साथै नेपाली मौलिक कला, संस्कृति र परम्परा प्रति सम्मानको भावना विकास गर्न सहयोग पुर्याएको विद्यालयको भनाइ छ।
विद्यालयले पढाइसँगै कला, संस्कृति, सिर्जनशीलता र व्यावहारिक ज्ञानलाई प्राथमिकता दिँदै विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको जनाएको छ। प्रतियोगिताले विद्यार्थीहरूमा दीपावलीको उत्साह थप्नुका साथै उनीहरूको प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गरेको थियो।