वीरगञ्ज आनन्द पटेल।
वीरगञ्ज महानगरपालिकाका मेयरका प्रत्याशी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि सुधीर पटेल महानगरका विभिन्न वडामा पुगेर स्थानीय जनतासँग प्रत्यक्ष संवाद र छलफलमा सक्रिय देखिएका छन्। उनी वडा–वडामा पुगेर नागरिकका समस्या, गुनासा, आवश्यकता र विकास व्यवस्थापनमा फसम्बन्धी चाहना बुझ्दै सुझाव संकलन गरिरहेका छन्।
यसैक्रममा दीपावली तथा छठ पर्वको अवसरमा पटेलले वीरगञ्ज महानगरपालिका–२ स्थित छपकैयामा स्थानीय बासिन्दासँग भेटघाट तथा अन्तरक्रिया गरेका छन्। उनले स्थानीयसँग चाडपर्वको शुभकामना आदानप्रदान गर्नुका साथै टोलका समस्या, विकास निर्माणको अवस्था र नागरिकका अपेक्षाबारे छलफल गरेका हुन्।
भेटघाटका क्रममा स्थानीयवासीले सडक, सरसफाइ, पूर्वाधार विकास तथा अन्य स्थानीय आवश्यकतासँग सम्बन्धित विषयहरू उठाएका थिए। पटेलले स्थानीयका गुनासा र सुझावलाई ध्यानपूर्वक सुन्दै उनीहरूका समस्या तथा अपेक्षा बुझ्ने प्रयास गरेका थिए।
पटेलले जनताको वास्तविक समस्या र आवश्यकता कार्यालयमा बसेर मात्र बुझ्न नसकिने भएकाले आफू स्वयं टोल तथा बस्तीमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गरिरहेको बताएका छन्। जनताको आवाज सुन्ने, उनीहरूका आवश्यकता पहिचान गर्ने र विकासका प्राथमिकता बुझ्ने उद्देश्यले महानगरका विभिन्न वडामा भेटघाटलाई निरन्तरता दिँदै आएको उनको भनाइ छ।
उनले दीपावली तथा छठ पर्वले समाजमा आपसी सद्भाव, एकता र भाइचाराको भावना थप बलियो बनाओस् भन्दै स्थानीयवासीलाई सुख, शान्ति, समृद्धि र खुसीको शुभकामना पनि व्यक्त गरेका थिए।
महानगरका वडा–वडामा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने पटेलको सक्रियताले स्थानीय समस्या, नागरिकका चाहना र विकासका प्राथमिकताबारे बुझ्ने प्रयासलाई अघि बढाएको छ।